महानगरद्धारा विस्थापित बालबालिकालाई एसईईसम्म निःशुल्क आवासीय शिक्षा
होल्डिङ सेन्टरका ३०० परिवारलाई राहत
काठमाडौँः काठमाडौँ महानगरपालिकाले नदी किनारका अवैध टहरा र संरचना भत्काउने क्रममा घरबारविहीन भई कीर्तिपुरको ‘होल्डिङ सेन्टर’ मा बसिरहेका परिवारका छोराछोरीको पढाई सुनिश्चित गर्न नयाँ कदम चालेको छ। महानगर, निजी शैक्षिक संस्थाहरूको सङ्गठन (प्याब्सन तथा एन–प्याब्सन) र पीडित अभिभावकहरूबीच भएको त्रिपक्षीय सहमति अनुसार प्रभावित विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्म निःशुल्क आवासीय छात्रवृत्ति पाउने भएका छन्।
महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले यो जानकारी दिएका हुन्। उनका अनुसार, 'विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढाइएको हो।' यो समझदारी कार्यान्वयन भएसँगै छनोटमा परेका विद्यार्थीहरूको पढाई, बस्ने ठाउँ र छात्रावासको सम्पूर्ण आर्थिक भार सम्बन्धित स्कूलहरूले नै बेहोर्नेछन्।
कीर्तिपुरस्थित केन्द्रमा हाल आश्रय लिइरहेका करिब ३०० परिवारमध्ये पहिलो चरणमा ५० जना बालबालिकाको प्रारम्भिक पहिचान (स्क्रिनिङ) गरिएको थियो। तीमध्ये ४१ जनालाई बल्खुमा रहेको जनविकास माध्यमिक विद्यालयमा भर्ना गराइएको छ। बाँकी रहेका १० वर्षभन्दा माथिका २० जना बालबालिकामध्ये १३ जनालाई शुक्रबार नै होस्टेलको सुविधासहित तोकिएका निजी विद्यालयमा जिम्मा लगाइएको छ।
१० वर्षभन्दा कम उमेरका साना नानीबाबुहरूलाई सुरुका दिनमा छात्रावासमा राख्न केही व्यावहारिक समस्या देखिए पनि कतिपय निजी विद्यालयले उनीहरूलाई पढाउने तत्परता देखाएका छन्। यदि आमाबुबा सहमत भएमा १० वर्षमुनिका बालबालिकाहरूलाई पनि एसईईसम्मकै नि:शुल्क छात्रवृत्ति र होस्टेलको व्यवस्था गर्न महानगर तयार रहेको छ।
यस कल्याणकारी कार्यमा काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई कापी-किताब र पोसाक जस्ता शैक्षिक सामग्री दिने, विद्यालयको नियमित रेखदेख गर्ने र अभिभावक-विद्यालयबीच समन्वय गर्ने जिम्मेवारी लिएको छ। अर्कोतर्फ, प्याब्सन र एन–प्याब्सनका प्रतिनिधिहरूले कानुनले तोकेको १० प्रतिशत छात्रवृत्ति कोटा प्रयोग गरी यी बालबालिकाहरूलाई देशभरिका आफ्ना सदस्य विद्यालयहरूमा भर्ना गराउन आन्तरिक परिपत्र जारी गर्ने प्रतिबद्धता जनाएका छन्।
महानगरपालिकाले कीर्तिपुर बाहेक अन्य ठाउँमा छरिएर रहेका विस्थापित बालबालिकाहरूलाई पनि सरकारी विद्यालयमा निःशुल्क र निजी शिक्षण संस्थाहरूमा छात्रवृत्ति दिलाउन आवश्यक सहजीकरण गरिरहने स्पष्ट पारेको छ।
साथै, काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १४ जना बालबालिकालाई आवास (होस्टेल) को सुविधासहित नि:शुल्क पढ्ने व्यवस्था मिलाएको छ। शुक्रबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा बसेको बैठकले महानगर, विद्यालय र अभिभावकबीच त्रिपक्षीय सम्झौता गरेर यी बालबालिकाका लागि कक्षा १० सम्मको नि:शुल्क आवासीय शिक्षा सुनिश्चित गरेको हो।
उक्त सम्झौता पत्रमा महानगरपालिकाका तर्फबाट शिक्षा अधिकारी नमराज ढकाल, सम्बन्धित स्कुलका तर्फबाट प्रधानाध्यापकहरू र विद्यार्थीका तर्फबाट उनीहरूका आमाबुबाले हस्ताक्षर गरेका छन्।
होस्टेल प्रस्थान गर्न लागेका बालबालिकाहरूसँग आत्मीय कुराकानी गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘राम्ररी पढ्नु, तपाईँहरू असल नागरिक हुनु पर्छ है’। महानगरको यस कदमले होल्डिङ सेन्टरमा रहेका परिवार र बालबालिकामा नयाँ उत्साह थपेको छ।
.gif)

.png)

