कीर्तिपुरको होल्डिङ सेन्टरमा पस्यो बाढी: सुकुमवासीको रातभर सडकमा बास र रुवाबासी

वृद्धवृद्धा र बालबालिकाको बिचल्ली


२०८३ असार २७ शनिबार ११:४१ बजे

काठमाडौं :  अविरल वर्षाका कारण बागमती नदीमा आएको भीषण बाढीले कीर्तिपुरस्थित सरकारी होल्डिङ सेन्टरलाई डुबानमा पारेको छ। सरकारले सुरक्षित बासका लागि भन्दै स्थानान्तरण गरेका सुकुमवासीहरू पुनः बाढीको चपेटामा परेपछि उनीहरूको बिचल्ली भएको छ।

शुक्रबार राति एक्कासि बाढी होल्डिङ सेन्टरभित्र पसेपछि सुतिरहेका बासिन्दाहरू भागाभाग गर्न बाध्य भए। पानीको सतह घुँडाभन्दा माथिसम्म पुगेपछि ज्यान जोगाउन उनीहरू रातको समयमै कीर्तिपुरको मुख्य सडकमा निस्किएका थिए। लगातारको वर्षाले कोठाभित्रै पानी भरिँदा उनीहरूका लत्ताकपडा, ओछ्यान र सम्पूर्ण बन्दोबस्तीका सामानहरू बाढीले भिजाएको छ।

वृद्धवृद्धा र बालबालिकाको बिचल्ली

'सुरक्षित स्थान भनेर यहाँ ल्याइयो, तर यहाँ त झन् ठूलो विपद् आइलाग्यो," एक पीडितले दुखेसो पोखे। होल्डिङ सेन्टरभित्रै पानी पसेपछि विशेष गरी बालबालिका, सुत्केरी र वृद्धवृद्धाहरूको अवस्था नाजुक बनेको छ। चिसो रात, खानेपानी र ओत लाग्ने ठाउँ नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।

नदी किनारका बस्तीलाई सुरक्षित राख्ने उद्देश्यले सरकारले सुकुमवासीहरूलाई यो होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो। तर, सरकारी संयन्त्रको पूर्वतयारी र स्थान छनोटमा गम्भीर लापरबाही देखिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

"बाढी आउने सम्भावनालाई बेवास्ता गर्दै गरिएको यो व्यवस्थापनले सुकुमवासीहरूलाई झन् ठूलो जोखिममा पारेको छ," एक स्थानीय अगुवाले भने। यस घटनाले सरकारको विपद् व्यवस्थापनको फितलो तयारीलाई पुनः एकपटक उदाङ्गो पारेको छ। अहिले बाढी प्रभावितहरू सडकको पेटीमै रात काट्न बाध्य छन् भने स्थानीय प्रशासनबाट तत्काल राहत र उद्धारको पर्खाइमा छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७