जावलाखेलको म्यानपावरबाट ४३७ राहदानी जफत
प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि म्यानपावरमा एक्सन
काठमाडौँ : वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने उद्देश्यका साथ श्रम मन्त्रालयले ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा छापा मारेको छ। मलेसिया जाने तयारीमा रहेका एक युवाले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएपछि श्रम मन्त्रालयको टोली प्रहरीसहित उक्त म्यानपावर पुगेको थियो।
शुक्रबार गरिएको उक्त आकस्मिक अनुगमनका क्रममा म्यानपावर कार्यालयबाट ४३७ थान राहदानी (पासपोर्ट) र ७ लाख ९० हजार रुपैयाँ नगद फेला परेको छ। बरामद गरिएको नगदको कुनै आधिकारिक रसिद फेला नपरेको श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवले जानकारी दिए।
प्रधानमन्त्री कार्यालयमा आएको गुनासोलाई आधार मानी मन्त्रालयले तत्कालै एक्सन लिएको हो। स्वकीय सचिव यादवका अनुसार, हाल उक्त म्यानपावरलाई सिल गरी थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा हुने यस्ता अनियमितता र ठगी विरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएको छ। साथै, मन्त्रालयले सर्वसाधारणलाई कतै पनि ठगी भएको वा समस्या परेको खण्डमा तुरुन्त खबर गर्न आग्रह समेत गरेको छ।
.gif)

.png)

