श्रमिकबाट चर्को शुल्क असुलीको उजुरीपछि जावलाखेलस्थित मुन म्यानपावरमा छापा

श्रमिकबाट २ लाख ७५ हजारदेखि ३ लाख रुपैयाँसम्म चर्को शुल्क मागेको गुनासो


२०८३ बैशाख २५ शुक्रबार २२:२५ बजे

काठमाडौं:  ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरले मलेसिया जान लागेका श्रमिकबाट २ लाख ७५ हजारदेखि ३ लाख रुपैयाँसम्म चर्को शुल्क मागेको गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ ।

सरकारले मलेसियाका लागि 'फ्री भिसा फ्री टिकट' को नीति ल्याए पनि उक्त म्यानपावरले श्रमिकहरूबाट गैरकानुनी रूपमा मोटो रकम असुल्न खोजेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा मन्त्रालयको टोलीले आकस्मिक अनुगमन गर्दा ४३७ वटा राहदानी र ७ लाख ९० हजार रुपैयाँ नगद फेला पारेको हो, जसको कुनै आधिकारिक रसिद उपलब्ध थिएन ।

श्रमिकहरूलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर तोकिएको भन्दा कयौँ गुणा बढी शुल्क असुल्नु र पासपोर्ट कब्जामा राख्नु गम्भीर अपराध भएको ठहर गर्दै मन्त्रालयले उक्त म्यानपावर कम्पनीलाई तत्कालका लागि सिल गरेको छ ।

श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवले बिना रसिद मोटो रकम मागिएको गुनासोलाई मन्त्रालयले प्राथमिकतामा राखेर यो कारबाही गरेको जानकारी दिएका छन् । मन्त्रालयले बरामद भएका राहदानी र नगदको विषयमा थप अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्ने र पीडित श्रमिकहरूलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७