फ्री भिसा फ्री टिकटमा ३ लाख माग्ने म्यानपावर कर्मचारी तीनकुनेमा पक्राउ

ठगीबाट जोगिएका अजय आज मलेसिया उड्दै


२०८३ जेठ ३ आइतबार ०९:३५ बजे

काठमाडौँः मलेसिया जान लागेका एक युवासँग सरकारी नियम मिच्दै ३ लाख रुपैयाँ असुल्न खोज्ने म्यानपावर कम्पनीका कर्मचारी तीनकुनेमा रङ्गेहात समातिएका छन्। सप्तरी निवासी अजयकुमार यादवसँग अवैध रूपमा रकम माग गरेको आरोपमा 'ग्रान्ड स्वीट जब' म्यानपावरका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

श्रममन्त्रीको सचिवालय र प्रहरीको संयुक्त कारबाहीपछि पीडित अजयकुमारको राहदानी, श्रम स्वीकृति र हवाई टिकटसहितका सम्पूर्ण कागजात फिर्ता गराइएको छ। यसका कारण उनी आइतबार मलेसिया प्रस्थान गर्न पाउने भएका छन्।

अजयकुमार मलेसियामा सुरक्षा गार्डको रूपमा काम गर्न वैशाख २९ गतेकै उडानमा जाने तयारीमा थिए। सरकारको 'फ्री भिसा फ्री टिकट' नीति अन्तर्गत अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लाग्नुपर्नेमा कोटेश्वरस्थित सो म्यानपावरले उनीसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको थियो। पछि १० हजार छुट दिने भन्दै ३ लाख रुपैयाँमा सम्झौता गराइएको थियो।

उनले यसअघि नै झापास्थित शाखा कार्यालयमार्फत ७० हजार रुपैयाँ बुझाइसकेका थिए। तर बाँकी २ लाख २० हजार रुपैयाँ तिर्न नसक्दा म्यानपावरले उनको राहदानी, श्रम स्वीकृति र हवाई टिकट बन्धक राखी वैशाख २९ को उडान रोकिदिएको थियो।

म्यानपावरले जेठ ३ गतेसम्म बाँकी रकम बुझाए मात्र उडाइदिने सर्त राखेपछि अजयले ऋण खोजेर पैसाको जुगाड गरे र रात्रिकालीन बस चढी शनिबार बिहान काठमाडौँ आइपुगे। म्यानपावरका कर्मचारीले शनिबार बिहानै फोन गरी पैसा लिएर तीनकुने गैरीगाउँस्थित पेट्रोल पम्प अगाडि आउन भनेका थिए।

काठमाडौँ आइपुग्नुअघि नै अजयले आफू ठगीमा परेको कुरा आफ्नै निर्वाचन क्षेत्रका सांसद तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयमा पुर्‍याइसकेका थिए। मन्त्रीका स्वकीय उपसचिव सरोज यादव पत्रकार र तीनकुने वृत्तको प्रहरी टोलीसहित आफैँ गैरीगाउँ पुगे। पेट्रोल पम्प अगाडि कर्मचारीले अजयसँग पहिले रकम मागे, अजयले कागजात माग्दा दुई पक्षबीच भनाभन भयो र सोही मौकामा सादा पोसाकका प्रहरीले उनलाई नियन्त्रणमा लिए।

पक्राउ परेका व्यक्तिको साथबाट अजयसहित चार जनाका राहदानी, हवाई टिकट र अन्य कागजात बरामद गरिएको छ। उनी ती चारै जनाबाट रकम असुलेर मात्र कागजात फिर्ता दिने योजनामा थिए। प्रहरीले 'फ्री भिसा फ्री टिकट' नीति भएको देशमा ३ लाख किन माग्यौ भनी सोधपुछ गर्दा उनी जवाफ दिन सकेनन् र अन्ततः ठगी स्वीकार गरे। तीनकुने प्रहरीले थप अनुसन्धानका लागि उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पठाएको छ।

मन्त्रीका स्वकीय सचिव सरोजले भनेका छन्, 'तीनकुनेस्थित गैरीगाउँमा आज एक सोझो नेपाली ठगिनबाट रोकेका छौं। यो विशेष योजनामा साथ दिनुहुने प्रहरी अधिकारीहरूलाई हार्दिक धन्यवाद।'

ठगीबाट जोगिएर न्याय पाएपछि अजयकुमारले खुसी व्यक्त गर्दै भनेका छन्, 'सुरुमा म्यानपावरले पैसा लाग्दैन, अन्तर्वार्ता पास भएपछि सबै मिलाउँला भन्यो। तर भिसा आएपछि ३ लाख नदिए जान पाउँदैनौ भन्दै धम्क्याउन थाल्यो। गरिब मान्छेले ऋण काढेर पैसा ल्याउनुपर्ने, त्यसमाथि यस्तो लुटधन्दा गर्नेलाई कडा कारबाही हुनुपर्छ।'

श्रममन्त्री यादवको सचिवालयले वैदेशिक रोजगारीको सिलसिलामा कुनै पनि एजेन्ट वा संस्थाबाट ठगी वा समस्यामा परेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यो घटनाले वैदेशिक रोजगारीका नाममा सोझा नागरिक कसरी लुटिइरहेका छन् भन्ने कुरा उजागर भएको मन्त्रालयले जनाएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७