२४ घण्टामा विपद्का २० घटना
काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा आगलागी, वन डढेलो र सर्पदंशका गरी २० वटा विपद्का घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घटनामा मानवीय क्षति नभए पनि पाँचजना घाइते भएका छन् भने लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
रामेछापको खाँडादेवी गाउँपालिका–४ मा विद्युत सर्ट हुँदा एक घरमा करिब १५ लाख बराबरको सुनचाँदी र नगद जलेर नष्ट भएको छ।
सुनसरीको बराहक्षेत्र–७ मा भएको आगलागीमा ५ लाख ६० हजार बराबरको क्षति भएको छ। नवलपरासी (पश्चिम), पर्वत र झापामा पनि आगलागीका घटनाले क्षति पुर्याएका छन्।
रौतहटमा गुडिरहेको स्कार्पियो गाडीको इन्जिनमा आगलागी हुँदा सवारीसाधनमा क्षति पुगेको छ।
गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि बढेको छ। मकवानपुर, नवलपरासी (पूर्व) र पाल्पाका विभिन्न सामुदायिक वनमा डढेलो लागेको छ। नियन्त्रणका लागि स्थानीय समुदाय र सुरक्षा निकाय सक्रिय रहेका छन्।
सर्पदंशका कारण झापा, पाल्पा र बर्दियामा तीनजना घाइते भएका छन्। कैलालीको टीकापुरमा खाना पकाउने क्रममा ७७ वर्षीया महिला घाइते भएकी छन् भने सर्लाहीमा घोडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सुर्खेतमा वन क्षेत्रमा चराउन लगिएका २१ मध्ये पाँच बाख्रा मृत र सातवटा घाइते अवस्थामा फेला परेका छन्।
.gif)

.png)

