अमेरिका-इरान तनावले मध्यपूर्वमा नयाँ सङ्कट

इरानद्वारा बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार


२०८३ जेठ २४ आइतबार १२:४० बजे

काठमाडौं : इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाडी क्षेत्रमा तनाव चरम सीमामा पुगेको छ । यस आत्मघाती कदमले मध्यपूर्वमा पहिले नै कमजोर अवस्थामा रहेको युद्धविरामलाई झनै जोखिममा पारेको छ भने क्षेत्रमा नयाँ सैन्य सङ्कट निम्त्याएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानले सामरिक रूपमा निकै महत्वपूर्ण मानिने होर्मुज जलसन्धि नजिक रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी सात वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये छ वटा क्षेप्यास्त्रलाई हवाई रक्षा प्रणालीले आकाशमै ध्वस्त पारिदिएको र एउटा क्षेप्यास्त्र लक्ष्यमा नपुगी समुद्रमा खसेको अमेरिकी दाबी छ ।

विशेष गरी बहराइनमा रहेको अमेरिकी जलसेनाको पाँचौँ फ्लीटको मुख्यालयलाई निशाना बनाएर गरिएको यस आक्रमणको बहराइन सरकारले कडा शब्दमा निन्दा गर्दै यसलाई 'खुला आक्रमण' को संज्ञा दिएको छ ।

यस्तै, कुवेतले पनि इरानी कदमलाई 'खतरनाक तनाव वृद्धि' भन्दै आपत्ति जनाएको छ । आक्रमणका क्रममा बहराइनको राजधानी मनामा र कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका थिए, जसका कारण स्थानीय बासिन्दाहरूमाझ निकै त्रास फैलिएको त्यहाँका पत्रकारहरूले उल्लेख गरेका छन् ।

यस सैन्य टकरावले मध्यपूर्वमा जारी क्षेत्रीय युद्धलाई थप फैलने र भयावह बनाउने खतरा बढाएको छ । लामो समयदेखि छद्म युद्ध (प्रक्सी वार) मा रहेका अमेरिका र इरानबीचको यो प्रत्यक्ष सैन्य टकरावले आगामी दिनमा खाडी क्षेत्रको सुरक्षा र तेल आपूर्ति मार्गमा समेत गम्भीर असर पार्ने विश्लेषकहरूले अनुमान गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७