भक्तपुरमा आजदेखि बिस्केट जात्रा, ९ दिनसम्म चल्ने
काठमाडौँ : भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट (बिस्का:) जात्रा आजदेखि सुरु हुँदैछ। नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न हुने गर्दछ।
भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको बिस्काः जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ। जात्राको सुरुवात तौमढीस्थित पाँचतले मन्दिर अगाडि भैरव र भद्रकालीको रथ तानेर गरिन्छ।
जात्रामा नौ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन्। सुरक्षाका लागि यस अवधिभर आवश्यक प्रबन्ध मिलाइएको हुन्छ।
पहिलो दिन पाँचतले मन्दिर प्राङ्गणबाट भैलखःलाई क्वने र थनेका बासिन्दाले डोरी तानेर आ–आफ्नो टोलतर्फ लैजाने परम्परा रहेको छ। यो नै जात्राको प्रमुख आकर्षणमध्ये एक मानिन्छ।
जात्राको दोस्रो दिनलाई शून्य दिनका रूपमा लिइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई सरकारी पूजा गरिन्छ। उक्त बलिपूजाको मासु स्थानीय बासिन्दालाई प्रसादका रूपमा वितरण गरिन्छ।
चौथो दिन हात नभएको लिङ्गो (यसींद्योः) उभ्याउने जात्रा हुन्छ, जसलाई जात्राको अर्को मुख्य आकर्षण मानिन्छ। नयाँ वर्षको पूर्वसन्ध्यामा उभ्याइने यो लिङ्गोलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
पाँचौँ दिन नयाँ वर्षको दिन बिहानैदेखि भक्तजनहरूको भीड लाग्ने गर्दछ। भैरव, भद्रकाली, बेताल र यसींद्योःको पूजा तथा दर्शन गरिन्छ। साँझ यसींद्योः ढालेर रथजात्रा पुनः सुरु गरिन्छ।
जात्राका अन्य दिनमा विभिन्न देवदेवीहरूको जात्रा, सिन्दूर जात्रा, खटजात्रा तथा सगुन जात्रासहितका कार्यक्रम सञ्चालन हुन्छन्। अन्तिम दिन पुनः भैलखः तानातान गरी जात्रा सम्पन्न गरिन्छ।
.gif)

.png)

