झापाका उम्मेदवार ओली र बालेन भक्तपुर र काठमाडौंमा मतदान गर्दै
काठमाडौंः प्रतिनिधिसभा सदस्य निर्वाचन विहानै ७ बजे देखि सुरु भएको छ । मुलुककै ध्यान खिचेका दुई मुख्य प्रतिस्पर्धीहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले आफैंलाई मतदान गर्न नपाउने भएपछि उनीहरु दुवै जनाले भक्तपुर र काठमाडौंबाट मतदान गर्ने तयारी गरेका छन् ।
दुवै नेता झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रिए पनि उनीहरूको मतदाता नामावली भने काठमाडौं र भक्तपुरमा रहेको छ । जसका कारण उनीहरूले आफू उम्मेदवार बनेको क्षेत्रमा नभई काठमाडौं उपत्यकाका मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । उनले बिहान ११ः३० बजे मतदान गर्ने ओलीको सचिवालयले जनाएको छ ।
आफ्नो गृहजिल्ला झापाबाट चुनाव लडे पनि मतदाता नामावली भक्तपुरमा रहेकाले उनले आफूलाई भोट हाल्न पाउने छैनन्।
ओलीसँग मुख्य प्रतिस्पर्धामा रहेका रास्वपाका वरिष्ठ नेता बालेन काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
ओलीसँग चुनाव लड्न झापा पुगेका शाहको मतदाता नामावली काठमाडौंमै भएकाले उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । बालेनले बिहान ७ बजे नै मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।
त्यसै गरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिहान १० बजे मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ । थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएकाले उनले आफैंलाई मत हाल्न भने पाउने छैनन् ।
.gif)

.png)

