२ लाख घुस लिएको आरोपमा विव्यस सदस्यविरुद्ध मुद्दा दायर
काठमाडौं : कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराइदिने भन्दै घुस मागेको सूचना एवं उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले बमलाई सेवाग्राहीबाट २ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा बमले विद्यालय व्यवस्थापन समितिको सदस्यको हैसियतमा रही सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग बार्गेनिङ गरी घुस मागेको र आफ्नै लागि २ लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार बमको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर हो। आयोगले बमलाई २ लाख रुपैयाँ बिगो कायम गरी सोही रकम बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
.gif)

.png)

