इन्डोनेसियाको मोलुका टापुमा शक्तिशाली भूकम्प
काठमाण्डौ - इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको उक्त भूकम्पको प्रारम्भिक मापन ७.८ म्याग्निच्युड गरिएको थियो। भूकम्पको केन्द्रविन्दु पर्यटकीय तथा ऐतिहासिक सहर टर्नेटबाट करिब १२० किलोमिटर टाढा रहेको जनाइएको छ।
भूकम्पलगत्तै हवाईस्थित सुनामी चेतावनी केन्द्रले केन्द्रविन्दुबाट एक हजार किलोमिटरभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा सुनामी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ।
भूकम्पको धक्का जापानसम्म महसुस गरिएको छ। जापानी मौसम विज्ञान एजेन्सीले केही समुद्री तटहरूमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी जारी गरेको छ। उद्धार टोलीले सार्वजनिक गरेका भिडियोहरूमा मनाडो सहरमा ठूला भवनहरू क्षतिग्रस्त भएको तथा फर्निचर सडकमा छरिएको देखिन्छ।
मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुई पराकम्प मापन भएका छन्। राष्ट्रिय भूगर्भ एजेन्सीले थप शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिँदै तटीय क्षेत्र तथा पहिरो जोखिम भएका स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
.gif)

.png)

