सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण सम्पन्न
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्ला, सानीभेरी गाउँपालिका–१, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ।
वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी नेपाल भूकम्प २०८०बाट क्षतिग्रस्त उक्त विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवन उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक हस बहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। भवनमा सुलभ पहुँचयुक्त शौचालयसमेत समावेश गरिएको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेश राज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदिप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं. १ का अध्यक्ष टेक बहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खड्का, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक पूर्वाधारमा सीमित नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षामार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतीक भएको बताए।
उनले विद्यालय केवल पठनपाठनको स्थान मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने आधारभूमि भएको उल्लेख गर्दै समयसापेक्ष, समावेशी र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राखे।
बैंकले नवनिर्मित भवनले विद्यार्थीहरूलाई सुरक्षित वातावरणमा शिक्षा प्राप्त गर्न सहयोग पुग्ने, शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी हुने तथा समग्र शैक्षिक वातावरण सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक कार्यमार्फत समाज विकासमा योगदान दिँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
.gif)

.png)

