भेनेजुएलामा ७.५ म्याग्निच्युडकाे दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका


२०८३ असार ११ बिहीबार ०७:२९ बजे

काराकास :  भेनेजुएलामा बुधबार राति केही समयको अन्तरालमा गएका दुई शक्तिशाली भूकम्पले राजधानी काराकाससहितका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, राति १०:०४ जीएमटीमा काराकासबाट २८४ किलोमिटर पश्चिमको सान फेलिपनजिक ७.२ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो। त्यसको केही समयपछि नै २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिक केन्द्रबिन्दु बनाएर ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली धक्का महसुस गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु देशका ठूला रिफाइनरीहरू रहेको मोन्टाल्बान क्षेत्रबाट उत्तर–पश्चिममा करिब २८ किलोमिटर टाढा रहेको जनाइएको छ। शक्तिशाली कम्पनका कारण राजधानी काराकासका थुप्रै भवनहरू भत्किएका छन्, विशेषगरी अल्टामिरा क्षेत्रमा भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। भूकम्पपछि त्रसित स्थानीय बासिन्दाहरू आफ्नो ज्यान जोगाउन घरबाहिर सडक र खुला स्थानमा भेला भएका छन्।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोले देशका अन्य राज्यहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको र अवस्था चिन्ताजनक रहेको बताए । उनले एसोसिएटेड प्रेस (एपी) सँग कुरा गर्दै घाइतेहरूको उद्धारका लागि एम्बुलेन्स तथा आपतकालीन सवारी साधनहरूलाई बाटो खाली गरिदिन सर्वसाधारण र सवारी चालकहरूलाई विशेष आग्रह गरे । 

यूएसजीएसले प्रारम्भिक मूल्यांकनका आधारमा यस भूकम्पबाट ठूलो मानवीय क्षति र व्यापक विनाश हुन सक्ने उच्च चेतावनी दिएको छ। यद्यपि, प्रारम्भिक चरणमा पोर्टो रिको र भर्जिन आइल्यान्डका लागि जारी गरिएको सुनामीको चेतावनी भने पछि रद्द गरिएको छ।

हाल प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्रताका साथ जारी छ, तर भौतिक क्षतिको विस्तृत विवरण आउन अझै केही समय लाग्ने अधिकारीहरूले जनाएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७