इनिशा विक हत्याकाण्ड : कडा कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले उक्त जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन सरकारलाई दबाब दिएका हुन् ।
सामाजिक अभियन्ता कविता चन्द सोडारीले आवश्यक परे कानुन संशोधन गरेर भए पनि हत्या र बलात्कारजस्ता जघन्य अपराध रोक्न सरकारलाई दबाब दिन आफूहरू आन्दोलनमा उत्रिएको बताइन्। उनले यस्ता घटनामा जिम्मेवार निकायले नै संरक्षण गर्ने गरेको आशंका व्यक्त गर्दै आक्रोशसमेत जनाइन् ।
सामाजिक अभियन्ता सोडारीले भनिन्,‘यो बलात्कारको घटना जुन सुर्खेतमा घट्यो । यो निकै दयनीय अवस्था छ । यस्तो खाले घटना पटकपटक भइरहँदा उपराधीहरु उत्साहित भइरहेका हुन् कि भन्ने अड्कल गर्न सकिन्छ । यो घटनामा निकै जघन्य अपराध देखिन्छ । यस्तो जघन्य अपराधको घटनामा सरकारका जिम्मेवार निकायहरुले विभिन्न घटनाहरुलाई ढाकछोप गर्ने तत्वहरुलाई निमिट्यान्न पार्नका लागि नीतिगत रुपमा नै करेक्शन गर्नुपर्छ किभनेर हामीले सामाजिक विरोधका कार्यक्रम गरेका हौँ ।’
प्रदर्शनमा सहभागीहरूले ‘इनिसालाई न्याय देऊ’, ‘बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको धारणा पनि व्यक्त गरेका थिए।
.gif)

.png)

