एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

पक्राउ गर्नुअघि भैंसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा


२०८३ असार ८ सोमबार १८:२५ बजे

काठमाडौं :  सम्पत्ति शुद्धीकरणको कसुरमा नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको छ। पार्टीको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका पौडेललाई वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभा हलबाट साँझ ५:४५ बजे प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलको नेतृत्वमा खटिएको १० जनाको विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ। सम्पत्ति शुद्धीकरण विभागबाट प्राप्त पत्रका आधारमा पक्राउ परेका पौडेललाई साँझ ६:४५ बजे गाडीमा राखेर नेपालगञ्जतर्फ लगिएको छ र त्यहाँबाट उनलाई काठमाडौँ ल्याउने प्रहरीको तयारी रहेको छ।

यस गिरफ्तारीप्रति नेकपा (एमाले) ले गम्भीर असन्तुष्टि व्यक्त गर्दै कडा आपत्ति जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक प्रेस वक्तव्य जारी गर्दै यस घटनाको घोर निन्दा र भर्त्सना गर्नुभएको छ। एमालेले यस गिरफ्तारीलाई वर्तमान सरकारले विपक्षी दलहरूप्रति अख्तियार गरेको 'अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको पराकाष्ठा' को रूपमा लिएको छ। 

पूर्व निर्धारित कार्यक्रममा सक्रिय रहेका पौडेललाई सामान्य कानुनी प्रक्रिया वा सोधपुछको विकल्पलाई नियतवश लत्याउँदै 'सस्तो राजनीतिक खपत' का लागि बदनियतपूर्वक पक्राउ गरिएको हो। सरकारको यस कदमलाई 'अधिनायकवादी' र 'प्रतिशोधपूर्ण' ठहर्‍याउँदै एमालेले यसका विरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।

सोमबार दिउँसो सुर्खेतबाट पक्राउ पर्नुभएका पौडेललाई नियन्त्रणमा लिनुअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनको निवासमा छापा मारी केही महत्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७