इनिसा विक हत्या प्रकरण : यस्तो छ किशोरको बयान


२०८२ फाल्गुण २८ बिहीबार १४:४५ बजे

काठमाडौँ : सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको भन्दै उठेको घटनामा आज छ दिन बितिसकेको छ । उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसाको परिवार र आफन्तले सामूहिक बलात्कार भएको दाबी गर्दै शव बुझ्न मानेका छैनन् ।  हाल उनको शव प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।

वीरेन्द्रनगर–६ मा बस्दै आएकी इनिसा २३ गते बिहान ६ बजे ट्युसन पढ्न घरबाट निस्केकी थिइन् । पोस्टमार्टम रिपोर्ट अनुसार यौनांगको भित्री र बाहिरी भाग च्यातिएकै कारण अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको भेरी अस्पताल नेपालगन्जको रिपोर्टले देखाएको बताइएको छ । 

प्रेमी भनिएका किशोरको बयान

प्रहरीलाई दिएको बयानमा १६ वर्षीय किशोरले इनिसासँग आफूहरू सहमतिमै जंगलतर्फ गएको बताएका छन्।

‘२३ गते शनिबार बिहान ७ बजे इनिसा र म सल्लाह गरेरै वीरेन्द्रनगरमा रहेको सहिद पार्क नजिकै जंगलमा गयौं । इनिसाका लागि काँटा चुरालगायत विभिन्न गिफ्ट ल्याएको थिएँ । इनिसा र मैले दुई वर्षयता शारीरिक सम्पर्क राख्दै आएका थियौं । त्यो दिन पनि धेरैबेरको गफगाफपछि दुवैको सहमतिमा तयार भयौं । सम्पर्क राखिसकेपछि इनिसाको यौनांगबाट अत्यधिक रगत बग्यो । अनि इनिसा बोल्न छोडिन् । म एकदमै आत्तिएँ । यताउता सारेँ, हातखुट्टा चलाएँ ।’

‘८:२५ मिनेटमा मैले मिल्ने साथीहरूलाई फोन गरेर आफ्नो समस्या राखेँ तर उनीहरुले आउन इन्कार गरे । पटक पटक फोन गरेपछि ३ जना साथी आए । इनिसा नबोलेपछि साथीहरू जंगल नजिक रहेको गाउँमा स्थानीयलाई खबर गर्न गए । गाउँले आइपुगेपछि प्रहरीलाई करिब ९:४५ मा खबर गरे ।’

प्रहरी आएर अस्पताल पुर्‍याउँदा १० बजिसकेको थियो।

चार जना पक्राउ

प्रहरीका अनुसार बयानका क्रममा ती किशोरले साथीहरूको सहयोग मात्र मागेको र सामूहिक बलात्कार नभएको बताएका छन्।

२३ गते इनिसा र उनीसँगै पढ्ने सुर्खेत घर भएका १६ वर्षीय किशोर वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन क्षेत्रमा हात समाएर हिँडिरहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले घटनामा संलग्न रहेको आरोपमा प्रेमी भनिएका १६ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरी जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिए।

‘हामी घटनास्थल पुग्दा इनिसाको शरीरमा कपडा थिएन,' उनले भने, ‘इनिसाको शरीर रगतले भिजेको थियो, उनी अचेत अवस्था थिइन् । समयमै अस्पताल पुर्‍याउन नसक्दा ज्यान गएको हो । हामीलाई खबर पनि ढिला भयो ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७