भोजपुरमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो
काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ भोजपुरमा श्रम संस्कृति पार्टी पहिलो बनेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रम संस्कृति पार्टी (माटो) ले १६ हजार १५० मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
यसैगरी १३ हजार ३ सय ७५ मतसहित नेकपा (एमाले) (सूर्य) दोस्रो स्थानमा रहेको छ भने ८ हजार ७३८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) तेस्रो बनेको छ।
त्यस्तै ७ हजार ५७९ मतसहित नेपाली कांग्रेस (रुख) चौथो र ४ हजार ८०३ मतसहित नेकपा (तारा) पाँचौँ स्थानमा रहेका छन्।
अन्य दलमध्ये राष्ट्रिय परिवर्तन पार्टी (मुरली) ले १ हजार ४८३ मत प्राप्त गरेको छ भने प्रगतिशील लोकतान्त्रिक पार्टी (आँखा) ले ४५० मत पाएको कार्यालयले जनाएको छ।
भोजपुरमा ९ वटा स्थानीय तह छन्। जिल्लामा कायम भएका मतदान केन्द्र तथा समानुपातिकतर्फका दुई अस्थायी मतदान केन्द्रसहित कुल १ लाख २८ हजार ७८ मतदाता रहेका थिए।
तीमध्ये समानुपातिकतर्फ ५८ हजार ४७३ मत खसेको थियो। खसेको मतमध्ये ५५ हजार ४८९ मत सदर भएको छ भने २ हजार ९८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
यसअघि प्रत्यक्षतर्फ श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका थिए। उनले १६ हजार ६६३ मत प्राप्त गर्दै नेकपा (एमाले) का उम्मेदवारलाई १ हजार ९१३ मतान्तरले पराजित गरेका थिए। एमालेका उम्मेदवारले १४ हजार ७५० मत प्राप्त गरेका थिए।
.gif)

.png)

