धनुषा–१ निर्वाचन रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी
काठमाडौं : सर्वोच्च अदालतले धनुषा–१ को प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले दायर गरेको उत्प्रेषण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
अदालतले रिट निवेदनसँग सम्बन्धित कागजात अध्ययन गरी निवेदकतर्फबाट अधिवक्ता दीपेन्द्र झाले प्रस्तुत गरेको बहससमेत सुनेपछि आदेश जारी गरेको जनाएको छ ।
आदेशअनुसार निवेदकको मागअनुसार आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारणसहित सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ विपक्षीहरूले पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अन्तरिम आदेशको मागबारे विचार गर्दा अदालतले निर्वाचन आयोगको फागुन २४ को पत्रलाई समेत दृष्टिगत गर्दै आदेश नहुँदासम्म उक्त निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित प्रणालीतर्फको मतपरिणाम घोषणा नगर्न सम्बन्धित निर्वाचन अधिकृतलाई जानकारी गराइसकेको जनाएको छ।
विषयको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा आयोगको धारणासमेत सुनेर निर्णय गर्न उपयुक्त हुने अदालतले उल्लेख गरेको छ ।
अदालतले फागुन २९ गते प्राथमिकतामा छलफलका लागि पेसी तोकेको छ। सो दिनको छलफलका लागि आयोगले फागुन १८ गते दिएको निवेदकको उम्मेदवारी खारेज गर्ने निर्णयसम्बन्धी फाइल पनि अदालतमा उपस्थित गराउन आदेश दिइएको छ।
.gif)

.png)

