सुनसरी–१ बाट जित्दैछन् हर्क साम्पाङ
श्रम र खानेपानीको जगमा साम्पाङ संघीय संसदको यात्रामा
धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्क साम्पाङ सुनसरी क्षेत्र नं. १ बाट विजयी हुने बलियो सम्भावना देखिएको छ । दशकौँदेखि परम्परागत दलहरूको ‘गढ’ मानिने यो क्षेत्रमा मतदानको क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङको पक्षमा लहर देखिएको स्थानीयहरुले बताएका छन् ।
धरानको दशकौँ पुरानो तिर्खा मेटाउन साम्पाङले गरेको भगीरथ प्रयास नै उनको मुख्य चुनावी एजेन्डा बनेको थियो । कोकाहाको पानी धरान झार्न उनले गरेको श्रमदान आन्दोलनले धरानका हरेक घरका मतदातालाई भावनात्मक रूपमा जोडेको थियो । ‘जसले पानी खुवाउँछ, उसैलाई भोट’ भन्ने चुनावी नारा अहिले प्रभावकारी भएको छ । धरान उपमहानगरका २० वटै वडा, बराहक्षेत्र र रामधुनीका केही वडाहरूमा सम्पाङको माटो पक्षमा मतदाताहरुले लहर देखिएको सुरक्षा स्रोतको भनाई छ ।
साम्पाङसँगै नेपाली कांग्रेसका तर्फबाट सुजेन्द्र तामाङ, एमालेका तर्फबाट टीका माङ्ग्ले लिम्बु, रास्वपाबाट गोमा (सरिन) तामाङ, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सूर्यबहादुर (मनोज) भट्टराई, उज्यालो पार्टी डम्बर लावती (जेन्टल), राप्रपाका उद्वव श्रेष्ठसहित २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा जितेका साम्पाङले मेयर कार्यकालमा देखाएको ‘एक्सन’ र श्रम संस्कृतिको प्रवर्द्धनले मध्यम र निम्न वर्गका मतदाताहरू उनीप्रति निकै आशावादी छन्। रास्वपाको उदय भए पनि यो क्षेत्रमा साम्पाङको व्यक्तिगत क्रेज रास्वपाको लहरभन्दा माथि रहेको विश्लेषण गरिएको छ।
धरान– १७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई जस्ता प्रतिस्पर्धीहरू मैदानमा भए पनि साम्पाङको 'सेन्टिमेन्ट' लाई चिर्न कठिन देखिएको छ। १ लाख ५० हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा साम्पाङले ल्याएको परिवर्तनको लहरु ले उनलाई संघीय संसद्को ढोका खोल्न सहज बनाइदिएको छ।
नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०४८ सालमा चुनाव जितेपछि एमालेको बर्चस्व रहँदै आएको छ। ०४८, ०५१ र ०५६ सालको निर्वाचनमा क्षेत्र नं. १ मा विजयी हासिल गरेको नेकपा एमालेले २०६४ सालको संविधानसभा निर्वाचनमा सो क्षेत्र गुमाएकोमा दोस्रो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा फेरि ‘कमब्याक’ भएको थियो। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेलै जितेको थियो। दश वर्षे जनयुद्धपछि पहिलोपटक ०६४ को संविधानसभा निर्वाचनमा भाग लिएको बेला माओवादीले क्षेत्र नं. १ जितेको थियो।
२०७९ सालको निर्वाचनमा एमालेसँगै तालमेलमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट तत्कालिन जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई विजयी भएका थिए। १७ हजार ५९ मत ल्याएर जितेका थिए।
त्यसो त नयाँ राजनीतिक दल रास्वपाबाट यसपटक पनि गोमा तामाङ (सरिन) चुनावी प्रतिस्पर्धामा छिन्। उनले २०७९ सालको निर्वाचनमा १६ हजार ६०६ मत ल्याएकी थिइन्। त्यो बेलाका विजयी उम्मेदवार अशोक राईसँग ४५३ मतको मात्र मतान्तर थियो। अघिल्लो पटक पाएको मतकै आधारमा यसटक तामाङको पनि सहजै जित हुनेमा पार्टी विश्वस्त छ। रास्वपाले क्षेत्र नं। १ का सभापति लोकबहादुर तामाङको नेतृत्वमा चुनाव परिचालन समिति बनाएर अहिलेसम्म रामधुनीका दुईवटा वडा र बराहक्षेत्रका लगभग पाँचवटै वडामा घरदैलो अभियान सकेको छ।
.gif)

.png)

