संघीयता, समावेशीता र धर्मनिरपेक्षतामाथि छेडखानी नगर्न हर्क साम्पाङको चेतावनी
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले संविधान संशोधनका नाममा संघीयता, समावेशीता र धर्मनिरपेक्षताजस्ता संविधानका आधारभूत व्यवस्थामाथि हस्तक्षेप गर्न खोजिए देश गम्भीर दुर्घटनातर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।
सोमबार काठमाडौंमा बोल्दै साम्पाङले संविधान संशोधनबारे भइरहेको बहसप्रति आफूहरूको ध्यानाकर्षण भएको बताए। उनले संविधानमा आवश्यक सुधार गर्न सकिने भए पनि त्यसका आधारभूत सिद्धान्तमाथि कुनै पनि प्रकारको छेडखानी स्वीकार्य नहुने स्पष्ट पारे।
उनले भने, “संविधान संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको कुराकानी भइरहेको छ, त्यसबारे हामीलाई जानकारी छ। तर संघीयता, समावेशीता र धर्मनिरपेक्षता यी तीनवटा विषयमा तलमाथि हुने गरी दख्खल गर्न खोजियो भने देशमा फेरि दुर्घटना निम्तिन सक्छ। चाहे त्यो जानेर होस् वा नजानेर, सचेत रूपमा होस् वा असचेत रूपमा, त्यसको परिणाम गम्भीर हुन सक्छ।”
साम्पाङले संविधानका आधारभूत विषयलाई नचलाइकन कार्यान्वयनका क्रममा देखिएका कमजोरी र आवश्यक पक्षमा मात्र संशोधन गर्नुपर्ने धारणा राखे। उनका अनुसार संविधानको मूल मर्म र उपलब्धिहरूलाई जोगाउँदै आवश्यक सुधार गर्नु नै अहिलेको आवश्यकता हो।
.gif)

.png)

