कोशी प्रदेश सरकार पुनर्गठन, आज ४ बजे मन्त्रीहरूको शपथ
काठमाडौँ : कोशी प्रदेश सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दैछन् ।
नयाँ मन्त्रीहरूको शपथ आजै साँझ ४ बजेका लागि तय गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए। नेकपा (एमाले) र नेपाली कांग्रेसबिच मन्त्री फेरबदल गर्ने सहमति भएपछि १० जना मन्त्री फेरबदल हुन लागेका हुन्। सचेतक तामाङका अनुसार कांग्रेसले प्रदीप सुनुवारको नेतृत्वमा चार जना मन्त्री र एक जना राज्यमन्त्री पठाउने निर्णय गरेको छ।
कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बु स्वास्थ्य, इस्राइल मन्सुरी कृषि तथा भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइने भएको छ।
एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन तथा रामकुमार महतो सामाजिक विकास मन्त्री बन्ने भएका छन्।
एमालेकै उमाकान्त गौतमलाई मुख्यमन्त्रीको कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी छ । सत्तारुढ दलहरूबिचको पछिल्लो सहमति अनुसार दुवै दलले दुई/दुई जना राज्यमन्त्री राख्ने समझदारी भएको छ।
.gif)

.png)

