रास्वपाको लक्ष्य स्पष्ट बहुमत : डा. स्वर्णिम वाग्ले

जेनजी आन्दोलन र वैकल्पिक शक्तिको लहरले रास्वपालाई बहुमत दिलाउने वाग्लेको विश्वास


२०८२ पौष १९ शनिबार १८:०६ बजे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले १५१ सिट जित्ने लक्ष्य राखेको बताएका छन् ।

पोखरामा शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा अब सानो संख्यामा सीमित भएर कसैको ‘म्याजिक नम्बर’ वा सत्ताको बैसाखी बन्ने पक्षमा नरहेको स्पष्ट पारे ।

उनले २१ सिटबाट ५०/६० सिटमा पुगेर चित्त बुझाउनु सजिलो भए पनि देशको अस्थिरता अन्त्य गर्न पूर्ण बहुमत आवश्यक रहेको बताए। ‘५०/६० सिट ल्याएर सरकारमा च्याखे थाप्ने वा म्याजिक नम्बरको खेलमा लाग्ने हाम्रो बाटो होइन,’ उनले भने, ‘अबको हाम्रो संकल्प २१ बाट एकै पटक १५१ सिटको हो। यो चानचुने कुरा होइन, तर मुलुकलाई निर्णायक धक्का दिन बहुमत आवश्यक छ।’

संसदमा २१ जना सांसद भए पनि रास्वपाले ठूला दलको अहंकारलाई चुनौती दिएको वाग्लेले स्मरण गरे। दुई तिहाइको दम्भका कारण रास्वपालाई भित्तामा पुर्‍याउने प्रयास भएको र लोकतान्त्रिक संस्कार बोकेकाहरू संसद बहिष्कार गर्नुपर्ने अवस्थामा पुगेको उनले गुनासो गरे।

विगत ३५ वर्षदेखि कांग्रेस, एमाले र माओवादीले पाएको अवसर दुरुपयोग भएको उनको टिप्पणी थियो। पुराना दलको असफलताकै कारण जनताले रास्वपालाई विकल्पका रूपमा हेरेको उनले दाबी गरे।

उनले आगामी निर्वाचनपछि रास्वपाले मुलुकको बागडोर सम्हाल्ने र उन्नत राजनीतिक अभ्यास सुरु गर्ने बताए। जेनजी आन्दोलन र वैकल्पिक शक्तिको लहरका कारण यस पटक जनताले रास्वपालाई भारी बहुमत दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७