सरकार लिकबाट बाहिरिए कान समातेर सच्याउने क्षमता रास्वपासँग छ : रवि लामिछाने
‘आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ’
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य, नीति र प्रतिबद्धताअनुसार काम गर्न नसके पार्टीले आवश्यक हस्तक्षेप गर्ने बताएका छन्। सरकारको कार्यशैली र स्थायित्वबारे टिप्पणी गर्दै लामिछानेले सरकार आफ्नो निर्धारित मार्गबाट विचलित भए त्यसलाई सही बाटोमा फर्काउने राजनीतिक क्षमता रास्वपासँग रहेको दाबी गरे।
सभापति लामिछानेले सरकार अहिले नै असफल भइसकेको निष्कर्षमा पुग्ने अवस्था नरहेको भन्दै सरकारलाई असफल हुन नदिन आफूहरू सचेत रहेको पनि बताए। उनका अनुसार सरकारले जनतासामु गरेका प्रतिबद्धता र तय गरेका लक्ष्यअनुसार काम गर्नुपर्छ। त्यसो गर्न नसके वा सरकार आफ्नो ‘लिक’बाट बाहिरिए राजनीतिक दलका रूपमा आवश्यक भूमिका निर्वाह गरेर सरकारलाई पुनः सही बाटोमा ल्याउने जिम्मेवारी आफूहरूले लिनेछन्।
‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ,’ लामिछानेले भने, ‘आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ। तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ।’
सरकार आफ्नो मार्गबाट बाहिरिए पुनः सही दिशामा फर्काएर सहज रूपमा अघि बढ्ने वातावरण निर्माण गर्ने उनको भनाइ थियो। लामिछानेले सरकार सञ्चालनको अवस्थालाई हवाई उडानसँग तुलना गर्दै बीचमा आउने प्राविधिक समस्या वा बाह्य कारणले उत्पन्न हुने अवरोधलाई लिएर आत्तिन नहुने बताए। हवाई यात्राका क्रममा कहिलेकाहीँ आउने ‘टर्बुलेन्स’ जस्तै सरकार सञ्चालनमा पनि विभिन्न प्रकारका चुनौती र असहज परिस्थिति आउन सक्ने उनको भनाइ थियो।
उनले त्यस्ता असहज परिस्थितिलाई सामान्य प्रक्रियाका रूपमा लिएर सरकारलाई निर्धारित गन्तव्यमा पुर्याउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। आम नागरिकलाई वर्तमान अवस्थालाई लिएर अनावश्यक रूपमा चिन्तित नहुन आग्रह गर्दै उनले सरकारलाई सही दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
लामिछानेले वर्तमान सरकार गठन भएको चार महिना पूरा भए पनि जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास देखिन नसकेको स्वीकार गरेका छन्। सरकारको चार महिनाको कार्यसम्पादनलाई पूर्ण रूपमा मूल्याङ्कन गरिहाल्ने समय भने नभइसकेको उनको भनाइ थियो। तर सरकार गठनपछि कम्तीमा केही सकारात्मक परिवर्तनका संकेत भने देखिनुपर्ने उनले बताए।
‘चार महिना मात्र भएको छ भनेर पूर्ण मूल्याङ्कन गर्ने समय भइसकेको छैन। तर चार महिनाको कार्यसम्पादनमा केही स्पष्ट छनक देखिनुपथ्र्यो,’ लामिछानेको भनाइ थियो।
उनले नागरिकबाट आएका सुझाव, गुनासा र अपेक्षालाई आफ्नो पार्टीले नजिकबाट नियालिरहेको पनि बताए। सरकारको कामकारबाहीलाई लिएर नागरिकमा देखिएको चासोलाई आफूहरूले गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको दाबी गरे।
लामिछानेले सरकार जनताको अपेक्षा पूरा गर्ने दिशामा अघि बढ्नुपर्ने र त्यसका लागि सरकारको कामलाई निरन्तर निगरानी गरिरहनुपर्ने धारणा राखे।
लामिछानेले रास्वपा केवल राजनीतिक दल मात्र नभई समाज परिवर्तनको हुटहुटी बोकेका युवा, विज्ञ तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूको समूह भएको दाबी गरे। उनका अनुसार पार्टीमा गैरराजनीतिक पृष्ठभूमिबाट आएका विज्ञ तथा पेशेवरहरूको ठूलो समूह रहेको छ। देशमा परिवर्तनका लागि विभिन्न क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका व्यक्तिहरू एक ठाउँमा आएर राजनीतिक प्रक्रियामा सहभागी हुनु दुर्लभ अवसर भएको उनको भनाइ थियो।
‘अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी हाम्रो पार्टीसँग छ,’ उनले भने, ‘किनकि यो पार्टीमा तपाईंहरूजस्तै केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू छन्।’
परिवर्तनका लागि गैरराजनीतिक पृष्ठभूमिका पेशेवरहरूको ठूलो समूह एकजुट भएर अघि बढ्ने अवस्था आफैँमा महत्वपूर्ण भएको उनले बताए।
‘परिवर्तनका लागि गैरराजनीतिक पृष्ठभूमिका प्रोफेसनलहरूको ठूलो समूह एकजुट भएर अघि बढ्ने चेतना कुनै पनि देशले सहजै पाउँदैन। हामी अहिले त्यही चेतनाको अवस्थामा छौँ,’ लामिछानेले भने।
उनले पार्टीभित्र रहेको यही ऊर्जा र क्षमतालाई मुलुकको परिवर्तनका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए। सरकार सञ्चालनमा आइपर्ने अप्ठ्यारो परिस्थितिलाई राजनीतिक रूपमा सम्बोधन गर्दै आवश्यक परे सरकारलाई सही दिशामा अघि बढाउन रास्वपाले भूमिका खेल्ने उनको भनाइ थियो।
लामिछानेले वर्तमान सरकार नागरिककै सरकार भएको दाबी गर्दै सरकारले जनताका अपेक्षा, सुझाव र गुनासालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।
उनले इतिहासले आफूहरूलाई दिएको जिम्मेवारी जनतासँगको सहकार्यबाटै पूरा गर्नुपर्ने धारणा राखे। सरकारलाई सफल बनाउन राजनीतिक दल मात्र नभई नागरिकको समेत भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
सरकारको यात्रा सहज नहुन सक्ने स्वीकार गर्दै उनले चुनौतीका बीच पनि निर्धारित लक्ष्यबाट विचलित नभई अघि बढ्नुपर्ने बताए। लामिछानेले सरकार आफ्नो प्रतिबद्धता र लक्ष्यबाट विचलित भए त्यसलाई सच्याउने राजनीतिक जिम्मेवारीबाट आफूहरू पछि नहट्ने स्पष्ट पारे। तर अहिले नै सरकार असफल भएको निष्कर्ष निकाल्ने अवस्था नरहेको भन्दै उनले सरकारलाई सही बाटोमा अघि बढ्न आवश्यक सहयोग र निगरानी दुवै गर्ने संकेत गरे।
उनको भनाइले सरकारको चार महिनाको कार्यसम्पादनप्रति रास्वपाले चासो र असन्तुष्टि दुवै राखेको देखिन्छ। एकातिर सरकारलाई तत्काल असफल घोषणा नगर्ने धारणा सार्वजनिक गरेका लामिछानेले अर्कोतर्फ जनअपेक्षाअनुसार कामको स्पष्ट परिणाम देखिनुपर्ने दबाब पनि दिएका छन्।
.gif)

.png)

