मेची राजमार्ग अवरुद्ध हुँदा चार जिल्लाका यात्री प्रभावित


२०८२ कार्तिक १५ शनिबार १४:०३ बजे

काठमाडौँ : बिहीबारदेखि लगातार परिरहेको वर्षाको कारण अवरुद्ध बनेको मेची राजमार्ग शनिबार पनि सञ्चालनमा आउन सकेको छैन। इलाम नगरपालिका–९ को इलाम–राजदुवाली खण्डमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध रहेको हो।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाउने काम लगातार भइरहेको भए पनि सडक भासिने क्रम रोकिएको छैन। उनले भने, 'मर्मत र पहिरो पन्छाउने काम दिनरात चलिरहेको छ, तर भासिँदो भूभागका कारण सडक खोल्न सकिएको छैन।'

सडक अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रु लामो समयदेखि अलपत्र परेका छन् । इलामतर्फबाट झापा जाने सवारी गोलाखर्क भञ्ज्याङमा रोकिएका छन् भने झापाबाट इलाम र हिमाली जिल्लातर्फ जाने सवारी माईखोलामा अड्किएका छन्।

वैकल्पिक बाटोका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोरमार्ग पनि अहिले सञ्चालनमा छैन । गत असोज १८ को बाढीले माईखोलास्थित बेलासे पुल भाँचिएपछि र बिहीबारको बाढीले तिल्केनी-सिमलगोलाई सडकखण्डमा पर्ने जोगमाई खोलाको डाइभर्सन बगाएपछि वैकल्पिक मार्गसमेत ठप्प भएको हो।

राजमार्ग अवरुद्ध भएपछि आपतकालीन सेवा र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर परेको स्थानीय प्रशासनले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७