प्रहरीको बर्दी लुटपाटपछि सुरक्षा जोखिम : गृहमन्त्रीले अग्रसरता लिनुपर्ने प्रहरीको भनाइ

काठमाडौँ : जेनजी समूहको आन्दोलनको क्रममा लुटिएका प्रहरीका हतियार र बर्दी अझै फिर्ता नहुँदा राजधानीमा सुरक्षा चुनौती सिर्जना भएको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ ।
स्रोतका अनुसार जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित प्रहरी कार्यालयमा दबाब सिर्जना गरिरहेको छ । यसै सन्दर्भमा सोमबार साँझ प्रहरीका वरिष्ठ अधिकारीहरू गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका थिए ।
त्यस क्रममा उनीहरूले प्रहरीले नियन्त्रण गर्न नसकेको उक्त हतियार कुनै पनि बेला हिंसात्मक प्रदर्शनमा प्रयोग हुन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका स्रोतले जनाएको छ ।
छलफलमा सहभागी प्रहरी अधिकारीले ब्रिफिङ गरेका थिए, 'प्रहरीका बर्दी पनि लुटिए, हतियार पनि लुटिए, जेलबाट भागेका पेशेवर अपराधी पनि बाहिर छन्। तिनैले प्रहरीकै हतियार र बर्दी लगाएर गोली चलाए भने सक्कली र नक्कली छुट्याउने अवस्था छैन।'
प्रहरीका अनुसार आन्दोलनको क्रममा ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो । तीमध्ये नेपाली सेनाको सहयोगमा करिब ३०० हतियार मात्र फिर्ता भएका छन्।
आगामी प्रदर्शनहरूमा प्रहरीको बर्दी र हतियार प्रयोग गरेर हिंसा हुनसक्ने भन्दै कम्तीमा सडक प्रदर्शन नगर्न मन्त्रीले नै जेनजीलाई आग्रह गरिदिनुपर्ने भन्दै प्रहरीले अनुरोध गरेका थिए ।
गृहमन्त्री अर्यालले भने २३ गतेको आन्दोलन दमन गर्ने अधिकारीहरुविरुद्ध जाहेरी नलिएसम्म जेनजीको आक्रोशलाई मत्थर पार्न नसकिने र आफूले भन्दैमा जेनजीले प्रदर्शन रोकिन नसक्ने बताएका स्रोतले जानकारी दिएको छ ।