अक्टोबर–९ मा आन्दोलन भन्दै अफवाह फैलाइयो : रक्षा बम

काठमाडौँ : जेनजी आन्दोलन अभियन्ता रक्षा बमले अक्टोबर ९ मा फेरि आन्दोलन हुने बारेमा फैलाइएको हल्लालाई अफवाह मात्र भन्दै खण्डन गरेकी छन्।
बुधबार आफ्नो फेसबुक पोस्टमा लामो स्ट्याटस लेख्दै बमले यस्ता हल्ला फैलाउने प्रयासलाई जेनजी पुस्तालाई बदनाम गर्ने र आन्दोलनलाई कमजोर बनाउनको लागि यस्तो अफवाहहरू फैलाइएको आरोप लगाइन् ।
'सडकमा लागेको रगतको छाप अझै सुकेको छैन । घाइते भएका साथीहरू अझै अस्पतालमा उपचाररत छन्,' बमले लेखेकी छन्, 'निहत्था जनतामाथि निरकुंश शासकले गोली चलाएर आन्दोलनलाई दमन गर्न खोज्यो । हाम्रो सङ्घर्षको आडमा धरोहरहरू जल्न पुग्यो, युवाहरूले प्राण गुमाए, र आँसुका साथ हामीले यो दृश्यका बीचमा विद्रोहको राह पत्ताइरहेका थियौँ।'
अक्टोबर ९ मा हुने भनिएको आन्दोलनमा उनी र उनका साथीहरूको कुनै संलग्नता नहुने प्रस्ट पारेकी हुन् । उनले भनिन्, "यो अफवाह हो। हामी हिंसात्मक गतिविधिहरूको कुनै पनि प्रकारको समर्थन गर्दैनौँ र भविष्यमा पनि गर्नेछैनौँ।'
बमले जेन–जी आन्दोलनको मूल उद्देश्यलाई याद दिलाउँदै नागरिक अधिकार, भ्रष्टाचारको विरोध, सुशासन र जबाफदेहिताको खोजीमा निरन्तर संघर्ष गरिरहेको जनाइन्।
आन्दोलनलाई बदनाम गर्न र राज्यको शान्ति खलबल्याउन कोसिस गर्ने तत्त्वहरूलाई बमले चेतावनी दिँदै भनिन्, 'जेन–जी आन्दोलनको भविष्यमा हिंसा र भय फैलाउने कुण्ठित मानसिकता भएकाहरूको प्रयासलाई हामी सफल हुन दिन्नौँ।'
साथै, कुनै पनि प्रकारको अफवाह र हिंसात्मक गतिविधिमा भाग नलिई शान्ति र समृद्धिको मार्गमा स्थिर रहन जेन–जी पुस्तासँग उनले आग्रह गरिन् ।