महानवमीको दिन मन्त्री कुलमानले गरे बिपी राजमार्ग निरीक्षण

काठमाडौँ : पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्गमा सवारी आवतजावत र क्षतिग्रस्त सडकको पुनर्निर्माणको अवस्थाबारे बुधबार निरीक्षण गरेका छन् ।
चाडपर्वको समयमा यात्रुहरूले सामना गर्नुपरेका समस्याहरू, ट्राफिक व्यवस्थापन र गत वर्षको बाढीले गर्दा भएको क्षतिको पुन:निर्माण प्रक्रियाबारे विस्तृत जानकारी लिनका लागि मन्त्री घिसिङ स्थलगत रूपमा बिपी राजमार्ग पुगेका हुन् ।
मन्त्री घिसिङको नेतृत्वमा सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजना अधिकारीहरू समेतको टोलीले फिल्डमा पुगेर राजमार्गको स्थिति अवलोकन गरे।
बिपी राजमार्ग काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख सडक मार्ग हो । गत वर्षको बाढीले उक्त राजमार्गको ३०.५ किलोमिटर क्षेत्रलाई क्षति पुर्याएको थियो । अहिले सडकको क्षमता र सुरक्षाका लागि पुनर्निर्माण कार्य अन्तर्गत क्षतिग्रस्त स्थानमा दुई लेन सडक निर्माणको काम भइरहेको छ ।
मन्त्री घिसिङले निरीक्षणपछि सम्बन्धित पक्षलाई निर्देशन दिँदै भने, 'चाडपर्वको समयमा यात्रुहरूलाई सस्तो, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न अस्थायी उपायहरू तत्पर राख्नुहोस् र स्थायी पुनर्निर्माण कार्यलाई तीव्र बनाउनुहोस्।'