काठमाडौं- ग्वाञ्जाओ सिधा उडान सुरु, दोहोरो टिकट ५० हजार रुपैयाँ

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ ।
निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार काठमाडौंबाट शनिबार दिउँसो ग्वाञ्जाओ उडेको विमान ग्वाञ्जाओबाट एक सय सात यात्रु लिएर आइतबार काठमाडौँ फर्किएको छ ।
निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो ।
पूर्वनिर्धारित तालिकाबमोजिम नै ग्वाञ्जाओमा नियमित उडान हुने निगमले जनाएको छ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ ।
पहिलो उडान असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान पनि तय भएको छ । त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको निगमले जनाएको छ ।
काठमाडौं–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ । नेपालीहरूको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ ।
निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल नेपाल वायुसेवा निगमसँग रहेका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुवई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ ।