डेडिकेडेट र ट्रंकलाइनको बक्यौता कात्तिक १७ भित्र बुझाउन अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिनको अल्टिमेटम दिएको छ ।
शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशन अनुसार डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने निर्णय गरेको थियो ।
घिसिङ ऊर्जामन्त्री नियुक्त भएलगत्तै डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।
प्राधिकरणले आइतबार सूचना निकालेर उद्योगलाई कात्तिक १७ भित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन अन्यथा कारबाही गर्ने चेतावनी दिएको हो ।
सोअनुसार लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् उपभोग गरेर पनि १० वर्षदेखि महसुल नतिरेका उद्योगीलाई प्राधिकरणले बक्यौता तिर्न म्याद तोकेको हो।
प्राधिकरणका अनुसार ४९ उद्योगले २०७२ माघदेखि ०७५ वैशाखसम्मको विद्युत् महसुल तिरेका छैनन्। ती उद्योगलाई प्राधिकरणले २८ किस्तामा महसुल तिर्ने सुविधा दिएको छ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा ४९ उद्योगीको ८ अर्ब २६ करोड बक्यौता उठाउन खोज्दा घिसिङलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले पदबाटै बर्खास्त गरेका थिए ।
जेन–जी आन्दोलनको जगमा बनेको नागरिक सरकारमा ऊर्जामन्त्री बनेपछि घिसिङले आफ्नो पुरानो कामलाई अघि बढाएका हुन्।