जेनजी आन्दोलनले निजी क्षेत्रमा ८० अर्बको क्षति

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको छ ।
निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले यस्तो औँल्याएका हुन् ।
आइतबार निजी क्षेत्रका संघ संस्थाका अध्यक्षसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको प्रारम्भिक अनुमान प्रस्तुत गरे ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले देशैभरको क्षति विवरण सङ्कलन गरिरहेको र हालसम्म उपलब्ध सूचना अनुसार करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन रहेको बताए । ढकालले ठूलो क्षति भएका उद्योग र साना एवं राजधानीबाहिरका केही व्यवसायको विवरण आउन नसकेको जानकारी प्रधानमन्त्रीलाई गराए ।
महासङ्घ र परिसङ्घले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण गरिरहेको जनाएका छन् । छलफलमा अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।
छलफलमा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकरलगायतमा छुट प्रदान गर्न पनि निजी क्षेत्रका प्रतिनिधिले माग गरे ।
यसै गरी सहुलियतपूर्ण कर्जा र नयाँ संरचना निर्माण गर्न आवश्यक सामान आयातमा प्रभावित व्यवसायीलाई भन्सारलगायत शुल्कमा छुट दिन पनि आग्रह गरिएको छ ।
छलफलका क्रममा चालु पुँजीकर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुनर्कर्जा, ब्याज अनुदानलगायतका वित्तीय सहुलियत तत्काल दिन सकिनेतर्पm व्यवसायीहरूले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।
महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययनअनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।