बजारमा चहल पहल बढ्यो, सवारीसाधन सञ्चालन हुन थाले

काठमाडौं । जेनजी आन्दोलनका कारण प्रभावित भएको जनजीवन फेरि बिस्तारै लयमा फर्किन थालेको छ ।
काठमाडौंमा बिहानैदेखि सवारी साधन सञ्चालन हुन थालेका छन् भने बजार पसलमा किनमेल किर्नेहरूको भिड लागेको छ ।
काठमाडौं उपत्यकामा नेपाली सेनाले जारी गरेको निषेधाज्ञा विहान ६ बजेदेखि ११ बजेसम्म खोलेसँगै बजारमा चहलपहल बढेको हो ।
यता, गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन् ।
निषेधाज्ञा र कर्फ्यू लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् ।
लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए ।
यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो ।
हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।