धरान भाटभटेनीमा भेटियो चार जनाको शव

काठामाडौँ : जेनजी आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केटको धरान शाखामा आगजानी हुँदा जलेर ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार मृतकको पहिचान हुन बाँकी छ । गत मंगलबार भएको तोडफोड र लुटपाटका क्रममा केही व्यक्ति भाटभटेनीभित्र फसेको हल्ला चलेको थियो ।
जेनजी आन्दोलन देशभर चर्किरहेको समयमा मंगलबार राति अरजक समूहले भाटभटेनी सुपरमार्केटको धरान शाखामा आगजनी गरेका थिए । मंगलबारदेखि लागेको आगो अझै नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।
तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको थियो । प्रहरीका अनुसार शव पूर्णरूपमा जलेका कारण पहिचान गर्न सकिएको छैन ।
यसअघि शुक्रबार बिहान दोस्रो तलामा एक जनाको शव भेटिएको थियो। प्रहरीले थप खोजी गर्दा शुक्रबार दिउँसो चौथो तलामा तीन जनाको शव फेला परेको हो।
आगजनीका कारण करोडौँ मूल्य बराबरको सामान जलेर नष्ट भएको र लाखौँ बराबरको चोरी भएको प्रहरीको अनुमान छ। घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।