आन्दोलनमा भएको अप्रिय घटनाका ‘प्रमाणहरू’ पठाउन प्रहरीको आग्रह

काठमाडौँ : नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका अप्रिय घटनाहरूको तस्बिर, भिडिओ तथा लिंकहरू पठाइदिन आग्रह गरेको छ।
प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
नेपाल प्रहरीको सूचनामा भनिएको छ, ‘यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई इमेलमा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं।’
प्रहरीका अनुसार सामग्री पठाउनेको गोपनियता कायम रहने छ। आन्दोलनमा हालसम्म गरी ५१ जनाको ज्यान गएको छ।