दोस्रो तहका नेताहरूको आत्माआलोचना : जनताको निराशालाई बुझ्न र पार्टीमा लोकतान्त्रिक मूल्य स्थापित गर्न सकेनौँ

काठमाडौँ । विभिन्न राजनीतिक दलका दोस्रो तहका १६ जना नेताले जनताको निराशालाई समयमै बुझ्न नसकेकोमा आत्माआलोचना गरेका छन् ।
उनीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी पार्टीलाई लोकतान्त्रिकरण गर्न नसकेकोमा समेत आत्मालोचना गरेका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका दोस्रो तहका ती नेताहरूले संविधानको रक्षा गरेर आन्दोलनको मर्मअनुसार वर्तमान संकट समाधान हुनुपर्नेमा समेत जोड दिएका छन्।
गएराति बसेको विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।
उनीहरूले वर्तमान राजनैतिक संकट समाधान गर्नका राष्ट्रपतिलाई केही सुझाव पनि दिएका छन्।
‘विगतमा जनताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समयमै त्यसको समाधान गर्ने पहलमा कमी भएको छ। पार्टीमा लोकतान्त्रिक मूल्य स्थापित गर्न नसक्नुमा हाम्रो पनि कमजोरी रहेको कुराप्रति आत्मसमीक्ष गर्दै क्षमायाचना गर्दछौँ,’ उनीहरूले भनेका छन्, ‘वर्तमान राजनैतिक संकट समाधान गर्नका निम्ति राष्ट्रपतिज्यूको ध्यानाकर्षण गर्दछौँ।’
विज्ञप्तिमा नेताहरू घनश्याम भुसाल, जनार्दन शर्मा, सुरेन्द्र प्रसाद पाण्डे, एनपी साउँद, मिनेन्द्र रिजाल, राजकिशोर यादव, देवेन्द्र पौडेल, अमरेशकुमार सिँह, गोकर्ण विष्ट, सुदन किराँती, रामकुमारी झाक्री, मीना तामाङ्ग, अमनलाल मोदी, सन्तोष परियार, चन्द्र भण्डारी, प्रकाश ज्वालासहितका नेताको हस्ताक्षर छ ।
यस्तो छ उनीहरूको निष्कर्ष
जेन-जी पुस्ताले गरेको आन्दोलनको क्रममा सरकारले निहत्ता युवाहरू माथि चलाइएको गोलीबाट दर्जनौ को मृत्यु भएको घटनाले समग्र राष्ट्र नै स्तब्ध भएको छ।
राजनैतिक सुधारका लागि माग गर्ने होनहार युवाहरुको हत्या को भत्सना गर्दै मृत्यु वरण गर्नेहरुप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।साथै परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछौँ। सयौँको सङ्ख्यामा घाइते हुनुभएकाहरू प्रती स्वास्थ्य लाभको कामना गर्दछौँ।
आन्दोलनले उठाएका मुख्य नाराहरू सान्दर्भिक भएको निष्कर्ष निकाल्दै देशमा विद्यमान विषम परिस्थिती लाई समाधान गर्न शान्ति सुरक्षा कायम गर्न र समाधानको लागि सहयोगी बन्न हामी प्रतिबद्ध छौँ।
साथै विगतमा जनताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समयमा समाधान गर्ने पहलमा कमी भएको र पार्टीमा लोकतान्त्रीक मूल्य स्थापित गर्न नसक्नुमा हाम्रो पनि कमजोरी भएको कुरा प्रती आत्म समिक्षा गर्दै क्षमायाचना गर्दछौ ।वर्तमान राजनैतिक संकट समाधान गर्न हामी निम्न व्यक्तिहरुले देहाय बमोजिम गर्न गराउन सम्मानीय राष्ट्रपतिज्यूको ध्यानाकर्षण गर्दछौँ।
राष्ट्रमा उत्पन्न असामान्य परिस्थितिको अन्त गरी मुलुकलाई वैधानिक दायरामा ल्याउन जेन९ जीको भावना अनुरुप संविधान सम्मत ढंगले अन्तरीम सकार गठन गर्न अनुरोध गर्दछौँ।
आन्दोलनको क्रममा भएको जनधनको क्षति सार्वजनिक तथा निजी सम्पत्तिको क्षति व्यक्ति केन्द्रित हमला समग्रको छानबिन गरी दोषी यकिन गर्न र निजहरूलाई कानुनको दायरामा ल्याउन एक शक्तिशाली आयोग गठन गर्न माग गर्दछौँ।
भ्रष्टाचारको अन्त गर्न राज्यको उच्चतहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन गरियोस्।
वर्तमान संविधानको संशोधन र परिमार्जनको बारेमा विभिन्न मत रहेको सन्दर्भमा ध्यान दिँदै संविधानको पुनरावलोकन गरी संविधानमा गर्नुपर्ने सुधारका विषयहरूलाई सरोकारवाला सबैसँग परामर्श गरी सिफारिस गर्न संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गरियोस्।
आन्दोलनले स्थापित गरेका मुद्दाहरू भ्रष्टाचारको अन्त्य गरी सुशासनको सुनिश्चितता ,राजनीतिक स्थायित्व ,परिवारवादको अन्त्य र नयाँ पुस्ताबाट नेतृत्व गर्ने वातावरण सिर्जना गर्ने,सत्तामा लामो समयसम्म निश्चित व्यक्तिको हालीमुहाली हुनुले आजको संकटको अवस्था सिर्जना गरेकाले आइन्दा यस्तो अवस्थाको पुनरावृत्ति हुन नदिन राजनीतिक दल सम्बन्धी कानुन परिमार्जन मार्फत सत्तालाई दुरुपयोग गर्ने अवस्था अन्त्य गरियोस्।
आन्दोलनको क्रममा अवान्छित तत्वहरुले सार्वजनिक र निजी समरचना राज्यका तथ्य तथ्याङ्क श्रेस्ता संपूर्ण जलायर समाप्त पारिए को छ। ठूलो आर्थिक क्षेती भएको छ। यस्तो परिस्थितीमा संवैधानिक रुपले राष्ट्रपति ज्युको अहं भूमिका हुने र राष्ट्र र राष्ट्रियताको रक्षा तथा नेत्रित्व गर्न कमि हुने छैन भन्ने विश्वास व्यक्त गर्दछौँ।
घनश्याम भुसाल
सुरेन्द्र प्रसाद पाण्डे
मिनेन्द्र रिजाल
देवेन्द्र पौडेल
गोकर्ण विष्ट
रामकुमारी झाक्री
अमनलाल मोदी
चन्द्र भण्डारी
जनार्दन शर्मा
ए न पि साउँद
राजकिशोर यादव
अमरेश सिँह
प्रकाश ज्वाला
सुदन किराती
मिना तामाङ्ग
सन्तोष परियार