झुम्का कारागारबाट भागेका १२ कैदी पक्राउ

इटहरी । झुम्का कारागारबाट भदौ २४ गते भागेका कैदीहरूमध्ये हालसम्म १२ जना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका ५ आँपटारबाट कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका ३८ वर्षीय हर्कबहादुर राईलाई नियन्त्रणमा लिइएको हो।
नेपाली सेनाको कालीशक्ति इन्जिनियर गण याङ्शिला ब्यारेक मोरङबाट सहसेनानी अमिर थापाको कमाण्डमा खटिएको टोली र इप्रका धरानका प्रसनि वीरबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै, लागूऔषध मुद्दामा कैद भोगिरहेका कैलाली धनगढी उपमहानगर ७ घर भई हाल धरान २ बस्ने ३१ वर्षीय निखिल भनिने वसन्तराज जोशीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।
सुनसरी प्रहरीका अनुसार हालसम्म झुम्का कारागारबाट भागेर फरार भएकामध्ये १२ जनालाई पक्राउ गरिएको हो।