आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै सक्रिय रहँदा वर्षाको गतिविधि बढेको छ।
शुक्रबार बिहान कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। डडेलधुराको गाइबाँधेमा पछिल्लो एक घण्टामा २०.६ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा १८.८ मिलिमिटर र डडेलधुराको जोगबुढामा १४ मिलिमिटर वर्षा मापन भएको छ। बैतडी, अछाम, सुर्खेत, सल्यानलगायतका जिल्लामा पनि वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेश, गण्डकी प्रदेशको पहाडी क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक(दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति पनि देशभर सामान्य बदली रहनेछ। कोसी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।