प्रिय ‘जेन-जी’हरुको नाममा
यो घटनाक्रमपछि ‘जेन–जी’ पुस्ताका प्रतिनिधिसँग सम्माननीय राष्ट्रपतिज्यू र प्रधानसेनापतिज्यूले वार्ता गरीरहनु भएको छ । संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै ‘जेन–जी’ पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ

सामाजिक सञ्जाल प्रतिवन्ध तथा भ्रष्टाचारविरुद्ध ‘जेन–जी’ पुस्ताको प्रर्दशनको क्रममा आफ्नो सुन्दर र अमुल्य जिवन गुमाएका होनाहार युवाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सन्तान र प्रियजन वियोगको पिडामा रहनु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
२३ भदौ २०८२ । ‘जेन–जी’ युवाहरुले जुन आर्दश, सपना र संकल्प सहित आन्दोलनको प्रारम्भ गरेका थिए । उच्च जिम्मेवारीबोध सहित युवाहरुले गरेको त्यो ऐतिहासिक प्रर्दशन असाधरण र अभूतपूर्व थियो । नयाँ इतिहासको रचना गर्ने गरी भएको त्यो प्रर्दशनप्रति गहिरो सम्मान मैले उतिबेला नै गरेको थिए । तर, बिडम्बना देश र आफ्नो भविष्यप्रतिको चिन्ताले केही अपिल, अनुरोध, आग्रह र आक्रोश बोकेर सडकमा आएका कलिला नानीहरू, नौजवान साथीहरू माथि बर्बर दमन भयो । त्यो सर्बथा गलत थियो । सुन्दर नयाँ सपना र गहिरो संकल्प बोकेर सडकमा आएका साथीहरूले आफ्नो सुन्दर जीवन गुमाउनु पर्ने दुर्भाग्यपूर्ण अवस्था आउनु हाम्रो लागि लज्जाको बिषय हो । मैले त्यही दिन भनेको छु, ‘यो हदसम्मको अपरिपक्वकता, असंयमता, विवेकहीनता, नालायकी र अमानवीयताको कारकहरु को–को हुन् ?’ निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ ।
२४ भदौ २०८२ । अघिल्लो दिनमा गरिएको बर्बर दमनको बहाना र प्रिय ‘जेन–जी’ युवाहरुको आवरणमा लुटपाट, तोडफोड र आगजनी भयो । हाम्रा ऐतिहासिक संरचना, बहुमुल्य र दुर्लभ दस्ताबेज, निजी सम्पतिहरु ध्वस्त पारियो । राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण भए, घर जलाउने काम भयो । हाम्रा पूर्खाहरुले बचाएर ल्याएको सद्भाव र एकताको मूल्य र मान्यता भत्काउने प्रयास भयो । मुलुकलाई दशकौं पछाडि धकेल्ने गरिएको त्यो ताण्डवले हामीलाई असाध्यै गहिरो आघात परेको छ । ‘जेन–जी’ पुस्ताले नेपाली राजनीतिक आन्दोलनको इतिहासमा एउटा नयाँ अध्याय लेख्दै गर्दा जेन–जी’ पुस्तालाई नै बदनाम गर्ने गरी यसप्रकारको ताण्डव मच्चाउने उनीहरु आन्दोलनकारी थिएनन् । ‘जेन–जी’ पुस्ता र राज्यले आफ्नो तदनुरुपको अभिलेख राखेर आफ्ना कदमहरु चाल्नेमा विश्वस्त छु । ‘जेन–जी’ पुस्ताले निर्माण गरेको आचारसंहिता, अनुशासन, मूल्य र आर्दश विपरित अकल्पनीय लुटपाट र आगजानीका घटनाहरुको उच्चस्तरीय न्यायिक समितिले छानविन गर्नेमा मलाई गहिरो विश्वास छ ।
यो घटनाक्रमपछि ‘जेन–जी’ पुस्ताका प्रतिनिधिसँग सम्माननीय राष्ट्रपतिज्यू र प्रधानसेनापतिज्यूले वार्ता गरीरहनु भएको छ । संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै ‘जेन–जी’ पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ । आजलाई मात्रै होइन भोलीलाई समेत ध्यानमा राखेर विवेक, धैर्य र संयमका साथ अघि बढ्नु जरुरी छ । फेरी पनि, समाधान संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम् क्षति नपुग्ने गरी संबिधानको मर्म अनुरुप निष्कर्ष खोज्नु नै उपयुक्त हुन्छ ।
हाम्रो अग्रज/तपाईं हाम्रो बलिदान र संघर्षबाट प्राप्त राजनीतिक तथा संवैधानिक व्यवस्थाहरुलाई भत्काउने र असफल मुलुक बनाउने अनि ‘जेन–जी’ पुस्तालाई सुन्दर भबिष्य निर्माणबाट बिमुख गर्ने प्रयासप्रति ‘जेन–जी’ पुस्ता सजग रहनुपर्छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेर जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित सहित आफ्नो माग सम्बोधन गरेर बढ्नु नै ‘जेन–जी’ पुस्ताले गरेको यो ऐतिहासिक आन्दोलनको सफलता हुनेछ । जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणाको मान्यता बचाएर सुन्दर देश निर्माण नै आन्दोलनमा मारिएका ती नौजवान साथीहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
आदरणीय अभिभावक, प्रिय साथीहरु ! अहिले चरम निराशा, हतासा, र अनिश्चितता देखिएको छ । तर हामीले इतिहासमा यसप्रकारको ठुला–ठुला अप्ठ्याराहरु पार गरेरै आएका हौं । मलाई लाग्छ, ‘अघिल्लो पुस्ताले अब ‘जेन–जी’ पुस्ताको भावना र शक्ति राम्ररी बुझेको छ ।’ मेरो पुस्ताका साथीहरुलाई भन्न चहान्छु, ‘अब हामीले आन्दोलनलाई नयाँ शिराबाट पुनः गठित गरेर अघि बढाउनुको अर्को विकल्प छैन । अब अग्रजहरुको सम्मान सहित आम पार्टी सदस्यहरुको अपनत्व हुने गरी आन्दोलनलाई पुनः गठन गरेर अघि बढौं ।
प्रिय नौजवान युवाहरु (जेन–जी) साथीहरु ! नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा अब तपाईं हाम्रो काँधमा आएको छ । मुलुकको लोकतन्त्र र राष्ट्रिय स्वाधीनता रक्षा गरेर सुन्दर देश निर्माण गर्नुछ । आउनुहोस्, हाम्रो नाम र आवरणमा हुने सबै खालका गलत कदमहरुलाई अस्वीकार गरौं । तपाईंहरुले आन्दोलनमा जान अघि बनाउनु भएको त्यो आर्दश, मूल्य र आचारसंहिता जगमा नै सुन्दर भोलीको लागि अघि बढौं ।
(इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यले जारी गरेको अपिल)