लुटपाटमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार नगदसहित ३१ नाल हतियार बरामद

काठमाडौं । नेपाली सेनाले लुटपाटमा संलग्न २७ जनालाई पक्राउ गरेको छ । भदौ २४ गते राति १० बजेबाट देशैभर नेपाली सेना लगायत सुरक्षा निकायहरु परिचालन भएपश्चात आज विहानसम्म सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
‘काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको’ सेनाले जनाएको छ ।
साथै, ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको छ ।
त्यसैगरी काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार नगद बरामद गरिएको छ ।
काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ ।
साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको छ ।