अब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न : रवि लामिछाने
माग्यो ‘अर्ली इलेक्सन’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिन नहुने बताएका छन् ।
हाल नख्खु कारागारमा रहेका लामिछानेले सोमबार सन्देश जारी गर्दै भनेका छन्, ‘यी आततायीहरूलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ ।’
लामिछानेले जेनजी प्रदर्शनमा सरकारको दमनप्रति स्तब्ध र विक्षिप्त भएको बताएका छन् । ‘म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो,’ उनले भने, ‘जेनजी र सिंगो देशलाई मेरो अपिल छ, अब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।’
माग्यो ‘अर्ली इलेक्सन’
राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारले वैधता गुमाएको निष्कर्ष निकाल्दै ताजा जनादेश (अर्लि इलेक्सन)को माग गरेको छ। प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दै रास्वपाले अर्लि इलेक्सनको माग गरेको हो।
‘नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (अर्लि इलेक्सन)को माग गर्दछौँ,’ रास्वपाले भनेको छ।
देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा भएको प्रदर्शनमा बर्बर दमन गरेको भन्दै रास्वपाले घटनाको निन्दा गरेको छ।
आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा नगर्न चेतावनी दिँदै रास्वपाले गृहमन्त्रीसहित सबै दोषीमाथि कारबाहीको माग गरेको छ। ‘घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरी गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ।