शेखरपक्षका मन्त्रीले राजीनामा दिने, गगन भन्छन् : कांग्रेसलाई सरकारबाट फिर्ता गराउँछु
प्रधानमन्त्रीले दमनको जिम्मा लिएर पद छोड्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूपक्षीय मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
हाल चीन भ्रणमा रहेका नेता कोइरालाले राजीनामा दिन निर्देशन दिएका हुन् ।
शेखर समूहबाट सरकारमा रामनाथ अधिकारी कृषिमन्त्री, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन्।
नेता कोइरालाले आफूहरूलाई राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री अधिकारीले बताए ।
कांग्रेसलाई सरकारबाट फिर्ता गराउन प्रयास गर्छुः गगन
यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिंगो कांग्रेसलाई सरकारबाट फिर्ता गराउन प्रयास गर्ने बताएका छन् ।
सोमबार सरकारबाट १९ आन्दोलकारी युवा मारिएको घटनाले रातभर निदाउन नसकेको भन्दै उनले अब आजको कार्यसम्पादन समितको बैठकमा पार्टीलाई तत्काल सरकारबाट फिर्ता हुन प्रस्ताव गर्ने जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘रातभर सुत्न सकिनँ। मजस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्य आँखाअगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनु हुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’
सोमबार जेन–जीले गरेको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएपछि सरकारको चर्को आलोचना भइरहेको छ।
कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन्।