आन्दोलनकारीको निशानामा पार्टी अफिस र नेताका घर


२०८२ भदौ २४ मंगलबार ११:१२ बजे

काठमाडौं । सोमबार भएको जेनजी आन्दोलनका क्रममा सरकारले दमन गर्दा १९ युवाको मृत्यु र ठूलो संख्यामा घाइते भएपछि आज देशब्यापी आन्दोलन चर्किएको छ । 

आजको आन्न्दोलनमा जेनजी मात्रै नभएर अभिभावकहरू पनि सडकमा आएका छन् । 

काठमाडौंसहित देशका विभिन्न सहरमा विहानैदेखि प्रदर्शन सुरु भएको छ । 

प्रदर्शनमा कतिपय नेताका घर, सरकारी कार्यालय तथा पार्टी अफिसमा तोडफोड र आगजनीका समाचारहरू आएका छन् ।

आगजनी र तोडफोड
मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । 

यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा तोडफोड भएको छ । उनको निवास अघिको प्रहरी बिटमा आगजनी गरेका छन् ।

यता, सर्लाहीमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगजनी भएको छ ।

यस्तै, रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् । 

झापाको बिर्तामोडस्थित नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

कञ्चनपुरमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयमा युवाहरुले ढुंगामुढा गर्दै तोडफोड गरेका छन्।

यस्तै उनीहरूले नेकपा एमाले र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगो झोस्ने प्रयास गरेका छन्। 

दुवै पार्टी कार्यालय परिसरमा टायर बालेर आगो लगाउने कोसिस भएको छ। भीमदत्त नगरपालिका मूल प्रवेशद्वारमा ढुङ्गामुढा गरिएको छ।

काठमाडौं, भक्तपुर, ललितपुर लगायतका धेरै जिल्लाहरुमा कर्फ्यू तोड्दै आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । चोक--चोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७