बालेनले भने प्रधानमन्त्री ओली ‘आतंकवादी’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को आरोप लगाएका छन् । जेनजी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको ज्यान गएपछि बालेनले सामाजिक सञ्जालमा स्टाटस राख्दै प्रधानमन्त्री ओलीलाई ‘आतंकवादी’को संज्ञा दिएका हुन् ।
‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस । यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्,’ बालेनले लेखेका छन् ।
समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको छ । देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै काठमाडौै बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ । यसैगरी आन्दोलनबाट १०७ जना पक्राउ परेका छन् ।