तीज आत्मिक शुद्धता र दाम्पत्य सौहार्दताको पर्व : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजलाई आत्मिक शुद्धता, संयम र दाम्पत्य जीवनको सुदृढीकरणसँग जोडिएको पर्वका रूपमा व्याख्या गर्दै सबै नेपाली दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन् ।
हरितालिका तीज, २०८२ को पावन अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले तीजलाई गीत–नृत्यको पर्वका रूपमा मात्र नबुझी व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक उत्सवको रूपमा लिनुपर्ने बताएका छन् ।
उनले प्राचीनकालमा पति–पत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको र समयक्रममा यो परम्परा महिलामाझ विकसित भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ । पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पु¥याउँछ भन्ने चर्चा गर्न थालेको छ ।’
उनले तीजले संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेर परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाउने विश्वास व्यक्त गरेका छन् ।
अहिलेको समाजमा तीजबारे नयाँ मतहरू पनि आएको उल्लेख गर्दै उनले यो पर्वले शील, सौजन्य र उदारताको सन्देश बोकेको बताएका छन् । उनले सबै दिदीबहिनीलाई तिजको मंगलमय शुभकामना दिँदै परिवार र समाजमा सौहार्द कायम होस् भन्ने कामना गरेका छन् ।