चाडपर्व र विपद्लाई ध्यान दिँदै इन्धनको मूल्य यथावत्
काठमाडौं : अन्तर्राष्ट्रिय बजारअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले हाल कायम खुद्रा बिक्री मूल्यलाई यथावत् राख्ने भएको छ।
आईओसीले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा बढेको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यासको खरिद मूल्यसमेत प्रतिसिलिन्डर ८९ रुपैयाँ ३२ पैसा बढेर आएको छ।
तर भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट उत्पन्न कठिन अवस्था, नजिकिँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै तत्काल इन्धनको खुद्रा मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ।
असोज १५ गते बिहान १२ः०१ बजेदेखि पेट्रोलियम पदार्थको साविककै खुद्रा बिक्री मूल्य कायम हुने निगम सञ्चालक समितिको निर्णय छ। पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धन भने नाफा–घाटा बराबर हुने मूल्यमा बिक्री गर्ने निर्णय भएको छ।
हाल काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ कायम छ।
त्यसैगरी आन्तरिक हवाई इन्धन प्रतिलिटर २४९ रुपैयाँ तथा काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर १ हजार ६९७ अमेरिकी डलर कायम गरिएको छ।
खरिद मूल्य बढेर आए पनि बिक्री मूल्य यथावत् राख्ने निर्णयले निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
निगमको विज्ञप्तिः
.jpg)
.gif)

.png)


