कात्तिक ११ देखि हिम पर्वतको आइपिओ खुल्ने


२०८३ असोज २६ सोमबार ०८:५४ बजे
फाइल फोटो

काठमाडौं : हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेको हो। आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाका लागि कात्तिक ११ देखि २५ गतेसम्म आवेदन खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले कात्तिक ११ देखि १६ गतेसम्म आवेदन दिन सक्नेछन्।

दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको छ।

यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।

त्यस्तै, बाँकी २५ प्रतिशत अर्थात् ४२ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई अति प्रभावित र प्रभावित क्षेत्रका आधारमा सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

दोलखाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दालाई अति प्रभावित क्षेत्रअन्तर्गत राखिएको छ।

यी क्षेत्रका बासिन्दाका लागि स्थानीयलाई छुट्याइएको कुल सेयरको ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता छुट्याइएको छ।

उल्लेखित वडाबाहेक बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका बासिन्दालाई प्रभावित क्षेत्रअन्तर्गत राखिएको छ।

उनीहरूका लागि स्थानीयलाई छुट्याइएको सेयरको ४० प्रतिशत अर्थात् ६ लाख ७६ हजार कित्ता छुट्याइएको छ। सेयर बाँडफाँटको आधार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार निर्धारण गरिएको कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ४ लाख २२ हजार ५०० कित्ता सेयरमा श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

यस समूहका आवेदकले पनि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयरसमेत सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिने कम्पनीको विवरणमा उल्लेख छ।

हिम पर्वत हाइड्रोपावरले साँगु खोला जलविद्युत् आयोजना र साँगु खोला–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। साँगु खोला आयोजनाको विद्युत् उत्पादन क्षमता २० मेगावाट छ भने साँगु खोला–१ को क्षमता ५.५ मेगावाट रहेको छ।

कम्पनीको विवरणअनुसार २० मेगावाट क्षमताको साँगु खोला आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ छ।

यसको प्रतिमेगावाट लागत करिब १८ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको छ। यस आयोजनाको लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष रहेको विवरणमा उल्लेख छ। त्यस्तै, विद्युत् उत्पादन अनुमतिपत्रको अवधि समाप्त हुनुअघिको बाँकी अवधिसम्बन्धी अर्को अवधि ९.०८ वर्ष उल्लेख गरिएको छ।

त्यसैगरी, ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ। यसको प्रतिमेगावाट लागत करिब २० करोड ९१ लाख ७३ हजार रुपैयाँ छ।

यस आयोजनाको लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष र विवरणमा उल्लेख गरिएको अर्को अवधि ९.५६ वर्ष रहेको छ।

कम्पनीका अनुसार दुवै आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि समाप्त भएपछि प्रचलित विद्युत् ऐन तथा त्यसमा हुने संशोधनअनुसार आयोजना चालु अवस्थामा नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ।

स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने अन्तिम मिति फरक रहेकाले इच्छुक आवेदकले आफ्नो समूहअनुसार तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७