वनले जडीबुटी उल्लेख गरेर जाँचपास दिएको कन्टेनरबाट १० करोडको भेप बरामद

काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै जडीबुटी उल्लेख गरेर जाँचपास भएको कन्टेनरबाट १० करोड मूल्य बराबरको ४० हजार थान विद्युतीय चुरोट (भेप) बरामद भएको छ ।
डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी टाँचा लगाएर पठाएको कन्टेनरबाट राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल एफीएफ टोलीले करिब ४० हजार थान विद्युतीय चुरोट भेटाएको हो ।
डिभिजन वन कार्यालय हुम्लाका निमित्त डिभिजन वन अधिकृत लोकजंग शाहीले नेपालगञ्जसम्मका लागि जाँच पास गरेर पठाएको कन्टेनर सशस्त्र प्रहरीले दैलेखबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको उक्त कन्टेनरलाई नेपालगञ्ज लगेर राजश्व र भन्सारसहितको टोलीले खोलेर हेर्दा चीनबाट तस्करी गरी भित्रिएको ३९ हजार ९ सय थान भेप र २,४०६ किलो सेतक चिनी फेला परेको हो । बरामद भेप करिब १० करोड बराबरको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कैलाश ईश्वर जडीबुटी खरिद बिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा ५ हजार किलो सेतक चिनी उल्लेख गरी वन कार्यालय हुम्लाले नेपालगञ्जसम्म पुग्ने गरी कन्टेनर जाँच पास गरिएको थियो । प्रतिकिलो २५ रुपैयाँ उल्लेख गरी एक लाख २५ हजार राजश्वको रसिद काटेर कन्टेनर जाँच पास गरिएको थियो । तर चीनको ताक्लाकोट हुँदै हिल्सा नाकाबाट भेप तस्करी गरिएको आशंकामा कन्टेनर राजश्व र सशस्त्र प्रहरीले कन्टेनर निगरानी गरेको थियो ।
तर वन कार्यालय र अरु केही सरकारी कर्मचारीको मिलेमतोमा तस्करीका भेपलाई जडीबुटी देखाएर भन्सार जाँच पास गराइएको कन्टेनर पछ्याउँदै जाँदा दैलेखबाट नियन्त्रणमा लिइएको हो ।
जडीबुटी व्यवसायको आवरणमा गैरकानुनी धन्दा चलाएका लामाले कैलाश–ईश्वर जडीबुटी खरिद बिक्री संस्थाका नाममा भदौ ३ मा जाँच पासका लागि वनमा निवेदन दिएका थिए । त्यसको दुई दिन पछाडि डिभिजन वन कार्यालय सिमकोट हुम्लाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत लोकजंग शाहीले जाँच पास गराएका थिए ।
‘संकलन इजाजत बमोजिम शर्मथान राष्ट्रिय वनबाट संकलन गरी नाम्खा गाउँपालिका–१ हुम्लामा घाटगद्दी गरिराखेको तपशिल बमोजिमको वन पैदावार नियमानुसार निकासीका लागि इजाजत मागका लागि भदौ ३ गते यस कार्यालयमा पेस भएको निवेदन अनुसार सम्बद्ध सरोकारवालको रोहबरमा वन पैदावार नापतौलका लागि सबडिभिजन वन कार्यालयका कर्मचारी हटाइ पठाएकोमा निजहरु घाटगद्दी स्थलमा गई संकलन इजाजत अनुसारको वन पैदावार नापतौल गरी संकलन लगतबमोजिम सब डिभिजन वन कार्यालय हुम्लाबाट वन पैदावार निकासीका लागि प्रतिवेदन साथ आवश्यक कागजातसहितको फाइल पेस हुन आएकोले २१ दिनभित्र घाटगद्दी स्थानबाट सल्लीसल्ला, बाजुरा कालिकोट दैलेख अछाम कैलाली बर्दिया कोहलपुर हुँदै नेपालगन्जसम्म लैजानको लागि यो छुट पुर्जी दिइएको छ’ भनी वन अधिकृत शाहीले कन्टेनर जाँच पास गराई छोडेका थिए ।
उनले ‘नियम अनुसार सब डिभिजन कार्यालय हुम्लामा कार्यरत कर्मचारीको रोहबरमा लोड गराई एचयुएम–१ नम्बरको शील लगाई दरपिठ गरी बाटोमा पर्ने वन चेक पोस्टहरूमा अनिवार्य चेक जाँच तथा दरपिठ गराई लैजानु हुन जानकारी गराइन्छ’ भनी कन्टेनर वाहकलाई पास उपलब्ध गराएका थिए ।
कन्टेनरमा तस्करीका सामान आएको आशंकासहित पिछा गरेको राजश्व र सशस्त्रले कन्टेनर नियन्त्रणमा लिएर बुझाउँदा भेप तस्करीको तथ्य खुलेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको राजश्व अनुसन्धान विभाग स्रोतले जनाएको छ । जडीबुटी भनी उल्लेद गरेको कन्टेनरमा वनकै कर्मचारीको मिलेमतोमा तस्करीका भेप पठाइएको हुन सक्ने स्रोत भनाई छ । उनीहरुमाथि पनि अनुसन्धान जारी रहेको राजश्व अनुसन्धान स्रोतले बतायो ।
जडीबुटी भनि भेप बरामद भएको कन्टेनरभित्र ईएलएफबीएआर ब्रान्डका भेप बरामद भएको छ । फरेस्टर सन्तोष खत्री र वनकै अर्का कर्मचारी कृष्णबहादुर हमालले नेपालगञ्जसम्म जानका लागि जाँच पास गरिएको पत्र तयार पारेका थिए ।