रुबीकुमारी साह हत्या : रिक्सा बिग्रिएपछि सडकमै छाडिएको थियो शव


२०८२ भदौ ९ सोमबार १७:३४ बजे

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी सुटकेसमा शव राखी लुकाउन प्रयोग गरिएको ई–रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका ई–रिक्सा चालक लक्ष्मण महरा छन् । रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई–रिक्सालाई पाँच सय रूपैयाँ भाडामा लिएका थिए । 

सुटकेस लैजाँदै गर्दा मुडलवा गेट नजिक ई–रिक्सा बिग्रिएपछि फिर्ता पठाइ हत्या गर्ने व्यक्तिले सुटकेस सडकमै राखेर भागेको प्रारम्भिक अनुुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन् । गौर–गंगापिपरा सडक खण्डको मुडवलवा मोड नजिक सुटकेशमा महिलाको शव फेला परेको थियो ।

गौर नगरपालिका–९ सिर्सिया नजिक गत शनिबार राति डोरीले बेरिएको सुटकेश स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीले बताए । हत्यामा संलग्नको पहिचान भइसकेको रौतहट प्रहरीले दावी गरेको छ ।

‘अनुसन्धान जारी छ । छिट्टै घटनाका सम्बन्धमा सबै कुरा बाहिर ल्याउँछौँ’, प्रहरी अधिकारीले भने, ‘शंका गरिएका व्यक्ति रुबीसँग लामो समयदेखि सम्पर्कमै रहेको देखिन्छ ।’
ती व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएको र उनले विदेशबाट फर्किदा ल्याएकै सुटकेस रुबीको शव फाल्न प्रयोग गरेको तथ्य प्रहरीले दावी गरेको छ । ‘हामी अनुसन्धानको निष्कर्षतिर पुगेका छौं । हामी छिटै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा छौँ’, अनुसन्धान अधिकारीले भने । 

रुबीलाई त्यस साँझ बोलाएर हत्या गरेको अनुसन्धान अधिकृतको दाबी छ । शनिबार साँझ केही सामान लिन जान्छु भन्दै गौर गएकी छोरी नफर्किएको उनकी आमा मिथिलादेवीले बताएकी छन् । 

तर त्यसै राति गौर नगरपालिका–९ मुडवलवा गे टनजिक सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । रुबीको १३ वर्ष पहिले भारतको मुजफरपुरका शिवसागर सुडीसँग विवाह भएको थियो । घटनापछि रुबीका श्रीमान पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।

रुबी भने केही महिना पहिलेदेखि मात्रै आमासँग डेरा लिएर बस्दै आएकी थिइन् । भारतमा घरबाट विद्यालय टाढा भएकाले छोरा पढाउन उनी यता डेरामा बस्न थालेकी थिइन्। ती शंकित व्यक्तिलाई भेट्नु पहिले उनी ब्युटिपार्लर गएको र छोरालाई जुस ल्याइदिन्छु भनेर फोन गरेको खुलेको प्रहरीको दाबी छ । रातिसम्म पनि घर नफर्किएपछि आमाले खोजी गर्दा उनको मोबाइलमा पहिले फोन उठेन । राति ९ बजेतिर भने स्वीच अफ भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७