काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीको प्रदर्शन 

‘बालेनले हाम्रो पेसा सिध्याए, त्यसै छाड्दैनौं’


२०८२ भदौ ९ सोमबार १६:१९ बजे

काठमाडौं । काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीहरुले प्रदर्शन गरेका छन् । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै विभिन्न पाँच बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न तत्काल हस्तक्षेपकारी नीति लिन सरकारलाई उनीहरुको आग्रह छ । काठमाडौं महानगरका प्रहरीले पछिल्लो दुई वर्षभित्र कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति तत्काल दिनुपर्ने उनीहरूको माग छ ।

संवैधानिक हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरपालिकाले गरेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कारबाही हुनुपर्ने लगायत माग उनीहरुको छ । उनीहरुले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नु पर्ने माग गरे ।  

पत्रकार सम्मेलनमा कवाड व्यवसायी ओम प्रकाश सिंहले महानगरविरुद्ध सुरु आन्दोलन निर्णायक हुने बताउँदै अब पछाडि नहट्ने बताए । आन्दोलन अब सफल भएरमात्रै टुङ्गिने उनको भनाइ छ । कवाड आन्दोलन संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले मेयर बालेन शाहले आफूहरूको पेसा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई त्यसै नछाड्ने चेतावनी दिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७