शंकरको आरोप : प्रचण्डले देश डुबाउँदै थिए, अब चिन्ता गर्नु पर्दैन

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले ओरालो अवस्थामा रहेको देशको अर्थतन्त्र केपी शर्मा ओली प्रधानमन्त्री भएपछि लयमा फर्किएको दाबी गरेका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा ओरालो लागेको देश अहिले अगाडि बढेको जिकिर गरे ।
‘प्रचण्डजी प्रधानमन्त्री हुँदा शिक्षक कर्मचारीले तलब नपाउने अवस्था थियो । राजस्व घटिरहेको थियो,’ महासचिव पोखरेलले भने, ‘निर्माण व्यवसायीले काम गरेको भुक्तानी नपाउने अवस्था थियो । उद्योग व्यवसाय बन्द हुने अवस्थामा थियो ।’
देश आर्थिक मन्दी र संकटको अवस्थामा पुगिसकेको पनि उनले आरोप लगाएका छन् । ‘तर अहिले यो सरकार बनेपछि राजस्व बढेको छ, सरकारको खर्च गर्ने क्षमता बढेको छ । शिक्षक कर्मचारीले तलबको चिन्ता गर्नुपर्ने अवस्था छैन,’ पोखरेलले भने ।
अहिले नेपाली कांग्रेस र एमालेले अघि सारेका नीतिगत सुधारका कामले निजी क्षेत्र उत्साहित भएको, देशमा लगानीको वातावरण बनेको र व्यवसायी प्रेरित भएर लगानी गरिरहेको उनले बताएका छन् ।