सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन : कुलमान घिसिङ

बार्सिलोना । युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राजनीति सही नभएसम्म मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।
एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज एशोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै घिसिङ्ले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन् ।
उनले विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउन र छिटो आर्थिक परिवर्तन गर्न नीति र नेतृत्वमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । घिसिङले भने, ‘सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न सक्दैन’, उनले थपे, ‘अहिले देशभरि झण्डै हरेक घरमा बत्ती पुगेको छ । तर बत्तीको उज्यालोले मात्रै पुग्दैन । देशभित्र हरेक क्षेत्र उज्यालो हुनुपर्छ । सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र नेपालको समृद्धिको खाका कोर्न उज्यालो नेपाल अभियान सुरु गरिएको हो ।’
उनले सबै राजनीतिक दलभित्र र बाहिर, स्वदेश वा विदेशमा रहेका नेपाली मिलेर राम्रो नेतृत्व जन्माउनु पर्ने बताएका छन् । उनले आफ्नो कार्यकालका उपलब्धिहरू साझा गर्दै भने, ‘म प्राधिकरणमा आउँदा कुल विद्युत उत्पादन ८०० मेगावाट थियो, अहिले झण्डै ४ हजार मेगावाट पुगेको छ । पाँच गुणा बढी उत्पादन भइसकेको छ र हजारौं मेगावाटका परियोजनाहरू निर्माणाधीन छन् । वार्षिक २५ अर्ब रुपैयाँ महसुल उठाइरहेका छौं । प्राधिकरणलाई आर्थिक रूपमा सबल बनायौं । आम जनताको सहयोग र देश–विदेशबाट प्राप्त समर्थनका लागि म सधैं आभारी छु ।’
चार महिनाअघि मात्र आफूलाई बर्खास्त गरेकोमा उनले सरकारप्रति व्यंग्यसहित धन्यवाद दिएका छन् । ‘नेपाल सरकारले त्यसो नगरेको भए आज तपाईंहरूसँग म भेटघाट गर्न पाउँदिनथें ।’
‘अहिले मुलुकका हरेक क्षेत्रमा अँध्यारो छ । त्यसलाई हटाएर आशा जगाउन, हरेक नेपालीको अनुहारमा उज्यालो छर्नु हाम्रो लक्ष्य हो । म खाडी मुलुक, अमेरिका, युके, बेल्जियम, नेदरल्याण्ड्स, माल्टा हुँदै स्पेन आएको छु । यस भ्रमणबाट मैले धेरै कुरा बुझ्ने र सिक्ने मौका पाएँ ।’
घिसिङ्ले प्रवासी नेपालीहरूको भूमिका र चासो पनि उल्लेख गरे । ‘संसारभर ५० लाखभन्दा बढी नेपालीले अनुभव र विज्ञता हासिल गरेका छन् । उनीहरूको सीप र क्षमता नेपालमा लगानी र विकासमा जोडिनु पर्छ ।’